काठमाडौं । स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन थालेको बताएका छन् ।
निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरे ।
आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट पारे ।
आयुक्त भण्डारीले भने, ‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निज विरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेश गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो ।’
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न भएको भण्डारीले बताए ।
