गुण्डु। फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् ।
वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै रु तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिए । गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन् । नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेकी छन् । किसानले माला प्रतिगोटा रु २५ देखि ३५ मा बिक्री गर्छन् ।
अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छन् । गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् ।
“मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ ।” मेनुका नगरकोटीले भनिन् । स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ ।
सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका छन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ ।
फूल खेतीको पुख्र्यौली पेशा अङ्गालेकी किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताइन । विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले दुई आना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताइन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।
