भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

आरन चलाएर गुजारा

आरन चलाएर गुजारा

बेदकोट, । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार । उहाँले आरनको काम गर्नुहुन्छ । उहाँले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँ घरबाट बिहानै आरनमा आउनुहुन्छ र बेलुका राति मात्रै घर फर्किनुहुन्छ । आरनमा उहाँलाई काम गर्न भ्याइनभ्याई छ ।

यही पेसाबाट उहाँले छोरा–बुहारी, नातिनातिनासहित १० जना परिवार पाल्नुभएको छ । “आरन चलाएर परिवार पालेको छुँ, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ”, उहाँ बताउनुहुन्छ, “घरखर्च पनि राम्रै चलेको छ ।” उहाँलाई आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ । उहाँका बुबा पनि आरनकै काम गर्नुहुन्थ्यो । सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिक्नुभयो, उहाँले । अहिले त्यही सीपको उपयोग गर्दै विष्णुले पनि आफ्नो परिवार सुखका साथ पालिरहनुभएको छ । विष्णुका बुबा विसं २०२४ मा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए ।

बचालमा आरन चलाउने उहाँहरुले तराई ९बनगाउँ० मा पनि त्यही काम थाले । बुबालाई आरनमा सघाउने उहाँले पहाडमै काम सिकिरहनुभएको थियो । तराईमा बुबासँग काम गर्दा उहाँ झनै काममा निपुण हुनुभयो । विष्णुले सानै उमेरमा बुबालाई गुमाउँदा परिवार पाल्ने जिम्मेवारी उहाँकै काँधमा आयो । त्यसका लागि उहाँले पनि आरनलाई नै निरन्तरता दिनुभयो । “अरू काम गर्नका लागि पढेको थिएन । कि त भारत नै जानु पथ्र्यो । तर म भारत गइनँ”, उहाँ भन्नुहुन्छ, “बुबाको कामलाई नै निरन्तरता दिए । काम गर्दै जाँदा कृषकहरुले पनि काम मन पराए ।”

बुबासँग आरनमा लडिबडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने स्रोत बन्यो । त्यसैले उहाँले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नु परेन । उहाँसँगैका साथीहरु कामका लागि अहिले पनि भारतमा छन् । उहाँ स्वदेशमा नै पौरख गरिररहनुभएको छ । उहाँ भन्नुहुन्छ, “भारतमा गएर मैले पनि १३ दिन काम गरेँ । तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन, त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छुँ ।” फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरुलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उहाँ बताउनुहुन्छ । भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इन्जिनियर बनेको हेर्ने चाहना छ, विष्णुको ।

आरनबाट हुने कमाईमा उहाँ सन्तुष्ट हुनुहुन्छ । “कहिले दिनमा एक÷दुई हजार । कहिले पाँच÷छ सय कमाई हुन्छ । कृषकहरुले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्”, उहाँ बताउनुहुन्छ । उहाँले छोराहरुलाई पनि रोजगारीमा लगाउनु भएको छ । एक छोराका लागि अटो किनिदिनुभएको छ भने अर्का छोरालाई खेतीपातीको काममा लगाउनु भएको छ । विष्णुले कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गर्नुहुन्छ । आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरु आउने गरेको उहाँ सुनाउनुहुन्छ ।

“टाढाटाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउनुहुन्छ”, उहाँ भन्नुहुन्छ, “आउने ग्राहकलाई खुसी बनाएका कारण ज्यालाभन्दा बढी पैसा दिएर जानुहुन्छ ।” काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उहाँकोे दाबी छ । जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उहाँको भनाइ छ । “धेरै काम आइरहेको छ । तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन ।”

 

 


Thali Mobile Pvt.Ltd.