भर्खरै : Sorry, your browser does not support inline SVG.

इरानको स्ट्रेट अफ होर्मुज बन्दको धम्कीपछि अमेरिका चीनसँग वार्ता गर्दै

इरानको स्ट्रेट अफ होर्मुज बन्दको धम्कीपछि अमेरिका चीनसँग वार्ता गर्दै

एजेन्सी, ९ असार । इरानले विश्वकै प्रमुख तेल र ग्यास आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्ने चेतावनी दिएपछि अमेरिका झस्किएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई आग्रह गर्दै इरानलाई यस्तो कदम नचाल्न सम्झाउने पहल गर्न

अनुरोध गरेका छन्।

इरानी राज्य सञ्चालित टेलिभिजनका अनुसार इरानी संसद्ले पर्सियन गल्फको प्रवेशद्वारमा पर्ने यो साँघुरो जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको छ। त्यसपछि रुबियोले Fox News सँगको अन्तर्वार्तामा भने, “चिनियाँ सरकारलाई आग्रह गर्दछु कि उनीहरूले इरानलाई फोन गरेर सम्झाउनुपर्छ। किनभने चीन स्वयं पनि स्ट्रेट अफ होर्मुजमा धेरै हदसम्म निर्भर छ।”

उनले चेतावनी दिंदै भने, “यदि इरानले यस्तो गर्छ भने त्यो ठुलो गल्ती हुनेछ, त्यो त उनीहरूको आर्थिक आत्महत्या सरह हुनेछ।”

स्ट्रेट अफ होर्मुज विश्वको करिब २५ प्रतिशत तेल र ग्यास आपूर्ति हुने प्रमुख जलमार्ग हो, जहाँबाट प्रति दिन लाखौं ब्यारेल तेल खाडी मुलुकहरूबाट चीन, भारत, जापान लगायतका मुलुकमा जान्छ। यहाँ कुनै पनि किसिमको अवरोधले विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्छ।

विदेश नीति विशेषज्ञहरूका अनुसार इरानी संसद्ले यस्तो प्रस्ताव पारित गरे पनि सैन्य वा सुरक्षासम्बन्धी कदम चाल्ने अधिकार संसदसँग छैन, यो अधिकार इरानको सुरक्षा परिषद् वा सर्वोच्च नेतासँग मात्र रहन्छ।

त्यसैले यो प्रस्ताव राजनीतिक दबाबको अभिव्यक्ति हुन सक्ने बताइएको छ। यद्यपि यदि इरानले साँच्चै जलमार्ग बन्द गर्‍यो भने त्यसले केवल अमेरिका वा पश्चिमी मुलुक मात्र होइन, इरान आफैँको अर्थतन्त्रलाई पनि ठुलो धक्का पुर्याउनेछ।

स्ट्रेट अफ होर्मुज बन्द भएमा तेलको मूल्य आकस्मिक रूपमा बढ्नेछ। चीन, भारत, जापानजस्ता तेल आयातमा निर्भर मुलुकहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्। त्यसका साथै विश्व बजारमा अस्थिरता निम्तिनेछ र ऊर्जा सुरक्षामा गम्भीर संकट उत्पन्न हुन सक्छ।

अहिलेको तनावले मध्यपूर्वमा अझै अस्थिरता बढाउने संकेत दिएको छ। इरान–अमेरिका सम्बन्ध फेरि तनावको उच्च बिन्दुमा पुगेको छ भने चीन अब निर्णायक भूमिकामा आउने सम्भावना बलियो देखिएको छ।

विश्व समुदायले यो संकटलाई वार्ताबाट समाधानतर्फ डोहोर्याउन तत्परता नदेखाए विश्व ऊर्जा सुरक्षामा ठूलो संकट उत्पन्न हुन सक्छ।

 


Thali Mobile Pvt.Ltd.