महेन्द्रनगर । कञ्चनपुरको सिस्ने सिमसार क्षेत्र वन्यजन्तुको सुरक्षित वासस्थान बन्दै गएको पाइएको छ । गत साता हात्तीले सिस्ने वन क्षेत्रमा छावा जन्माएपछि यस क्षेत्रलाई स्थानीय स्तरबाट संरक्षणका लागि पहल थालिएको छ । लालझाडी–मोहना जैविक मार्गलाई हात्ती संरक्षण क्षेत्र घोषणा समेत गरिएको छ । करीब २९ हजार हेक्टर क्षेत्रफल रहेको उक्त क्षेत्रमा आइतवार सामुदायिक वन समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी ‘लालझाडी मोहना जैविक मार्ग हात्ती संरक्षण कार्यक्रम’ शुरू गरिएको छ । सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले संरक्षणकै कारण सिस्ने क्षेत्रमा हात्तीको आउजाउ बढेको बताए । ‘
यो हात्तीको कोरिडोर नै हो,’ अध्यक्ष पन्तले भने, ‘बीचमा पर्ने सिस्ने क्षेत्रमा हात्तीले बच्चा जन्माएपछि यस क्षेत्रलाई संरक्षण क्षेत्रकै रूपमा विकास गर्न लागेका छौं ।’ यहाँ हात्तीले छावा जन्माएको दिन ९२२ असोज०लाई हात्ती दिवसको रूपमा मनाउने घोषणा समेत गरिएको उनले बताए । वनमा क्षेत्रमा विभिन्न आहारा पाइन थालेपछि वन्यजन्तुको वासस्थान बढेको उनको भनाइ छ । घरपालुवा वस्तुभाउको चरिचरन बन्द, चोरी तस्करी नियन्त्रण गरिएपछि सिस्ने वन क्षेत्र संरक्षण हुन थालेको छ । आगामी दिनमा समेत जैविक विविधता संरक्षण एवं उपभोक्ताको आयमूलक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष अवस्थीले बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले नागरिक स्तरबाट वन संरक्षण भएसँगै हात्तीले बच्चा जन्माउने वातावरण सृजना भएको बताए ।
सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्टले वन्यजन्तुका लागि गरिएको उचित व्यवहारका कारण हात्तीले यसै वन क्षेत्रमा बच्चा जन्माएको हुन सक्ने बताए । ‘वन संरक्षण भयो, वन्यजन्तुले सुरक्षित वासस्थान पाए,’ उनले भने, ‘त्यसैले वन्यजन्तुको आकर्षण पनि बढ्यो ।’ यस्ता गतिविधिबाट सरोकारवाला वन तथा वन्यजन्तुको संरक्षणमा जुटेको पुष्टि हुने उनको बुझाइ छ ।
