काठमाडौं । सेवाग्राहीका सबै कागजात चुस्त अवस्थामा रहे कन्सुलरसम्बन्धी कतिपय सेवा पाँच मिनेटभित्रै उपलब्ध गराउने कन्सुलर सेवा विभागले नवीनतम् प्रणाली अभ्यासमा ल्याएको छ । सहज तथा सुलभ कन्सुलर सेवा नाम दिइएको उक्त कार्यक्रमले विभागको सेवा प्रवाहमा छरितो पन ल्याएको छ ।
साथै राजश्व सङ्कलन वृद्धि तथा अन्तर्राष्ट्रिय समुदायमा नेपालका कागजपत्र प्रमाणित कार्यको विश्वसनीयतासमेत बढाएको छ । नयाँ सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याइएपछि दुरदराजबाट काठमाडौँ आएर कागजपत्र नमिलेर फर्कनुपर्ने समस्या हट्नुका साथै जनतालाई स्थानीय तहबाटै कन्सुलरसम्बन्धी सेवा प्रभावकारीरूपमा प्रदान गर्ने कार्यमा सफलता मिलेको विभागका महानिर्देशक धनबहादुर ओलीले बताए ।
विभागले नयाँ अभ्यासमा ल्याएको सूचना प्रविधिको प्रयोग मुलुकका सबै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह अर्थात् पालिका कार्यालयमा जोडिएपछि कन्सुलर सेवा सेवाग्राहीमैत्री बन्न पुगेको बताईको छ । ओलीले भने, ‘आधुनिक कन्सुलर अफिस ड्रिमसहितको स्थानीय तहसँगको सहकार्य कार्यक्रम यस आवमा उदयपुर, खोटाङ र ओखलढुङ्गाका १० पालिकामा सुरु गरिएको छ भने यस आवमा थप २० जिल्लामा विस्तार गर्ने कार्ययोजना छ ।’
गत वर्ष २५ जिल्लामा सहकार्यको सुरुआत गरिएको थियो । यसले गर्दा कम साधनस्रोतमा धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ । साथै विभागमा सेवाग्राहीको चाप निकै कम भएको छ । दिनभर लाग्ने कतिपय काम केही मिनेटमा समेत हुने गरेको विभागको दाबी छ ।
विभागले आफ्नै जनशक्ति र स्रोतसाधनको प्रयोग गरी निकै कम खर्चमा तयार गरेको उच्च प्रविधिको उक्त सेवा सञ्चालनमा आएपछि जनताले कन्सुलरसम्बन्धी आफ्नो काम कहाँ कुन चरणमा पुगेको छ भनेर घरबाटै जानकारी लिन र प्रतिक्रिया दिन सक्नेछन् ।
विभागको आफ्नै कार्ययोजना र सिर्जनामा निर्माण गरिएको अनलाइन कन्सुलर सेवा प्रणालीको स्रोत पूर्णरूपमा विभागसँगै रहेकाले पूर्णरूपमा सुरक्षित मात्र नभई आवश्यकतानुसार परिमार्जन गर्न अरु कुनै कम्पनीमा निर्भर हुनुनपर्ने बताएको छ । सेवा लिने क्रममा कुनै समस्या र अल्झन खेप्न नपरोस् भनी निःशुल्करूपमा टोल फ्रि नम्बर ११५२ सञ्चालनमा ल्याएर केन्द्रसँग जोड्ने काम भएको ओलीले बताए ।
महानिर्देशक ओली भन्छन्, ‘मुलुकभर कन्सुलर सेवालाई जनताप्रति उत्तरदायी बनाउँदै कम समयमा नै सहज र गुणस्तरीय सेवा दिने प्रयास गरिएको छ । त्यसका लागि तत्तत् कार्यालयमा इन्टरनेट र विषयविज्ञ जनशक्ति भने आवश्यक छ ।’ विभागको उक्त कार्यले सेवाग्राहीले काठमाडौँ आउनुपर्ने स्थितिमा कमी भएको छ ।
आर्थिक वर्ष २०७८,० ७९ मा तीन लाख ७८ हजार व्यक्तिलाई कन्सुलर सेवा प्रदान गरी कागज प्रमाणित गरेवापत मात्रै रु २२ करोड राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने एक लाख ३४ हजारले मात्रले त्यो सेवा प्राप्त गरेका थिए । जहाँसुकैबाट पनि कन्सुलरको आफ्नो कामबारे हेर्न र बुझ्न सकिने व्यवस्था गरिएको छ ।
विभाग नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरेसँगै कन्सुलर सेवा विभागसँग प्रणाली आबद्धता भएका कार्यालयबाट जारी राहदानी, नागरिकता, प्रहरी रिपोर्टलगायत कागजात विभागबाट तत्काल नै प्रमाणीकरण हुने व्यवस्था गरिएको विभागले जनाएको छ । स्थानीय तहबाट जारी कागजात राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागसँग प्रणालीमा आबद्धता गरी तत्काल नै प्रमाणीकरण हुनेसमेत व्यवस्था गरिएको छ ।
