काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारी तीब्र पारिएको छ । मञ्च निर्माण देखि प्रचार प्रसारका कार्यलाई काँग्रेसले तिव्र बनाएको छ । राजधानीमा काँग्रेसले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डा टाँगेर चुनावी माहोल झल्काइरहेको छ ।
भृकुटीमण्डपको प्रमुख गेट महाधिवेशन केन्द्रीत प्रचार–प्रसारका ब्यानरले भरिभराउ छन् भने दुवै पक्ष पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवार प्रचार प्रसारमा व्यस्त छन् । शुक्रबार हुने उद्घाटन सत्रका मञ्च तयार भइरहेको छ । मञ्च निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार विभागले जनाएको छ ।
मञ्चको पहिलो तहमा साँस्कृतिक टोलीले आफ्नो प्रस्तुति दिन सक्नेछ । दोस्रो तहमा काँग्रेससहित अन्य पार्टीका शीर्ष नेता र विदेशी अतिथि र अन्तिम वा माथिल्लो तहमा काँग्रेसका केन्द्रिय पदाधिकारी र अन्य पदाधिकारी बस्न मिल्ने गरि व्यवस्थापन गरिने बताइएको छ ।
महाधिवेशन मञ्च अगाडिको स्थल ३ लाखको हाराहारीमा उपस्थिति रहने कार्यकर्ताहरूलाई भृकुटीमण्डप पार्क, मञ्च अगाडिको सडक, बाहिरी सडकलगायत स्थानमा व्यवस्थापन गरिने काँग्रेसले बताएको छ ।उद्घाटनसत्रमा उपस्थित कार्यकर्ता तथा प्रतिनिधिहरूको सहजताका लागि महाधिवेशन स्थल वरिपरि सुन्न र हेर्न सकिने गरि डिजिटल स्क्रिनको व्यवस्थापन भइरहेको प्रचार–प्रसार विभागले जानकारी दिएको छ ।
