कांग्रेसको ६ प्रदेशमा नयाँ नेतृत्व चयन आज

कांग्रेसको ६ प्रदेशमा नयाँ नेतृत्व चयन आज

काठमाडौं । नेपाली कांग्रेसले आज प्रदेश– २ बाहेक अन्य ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दैछ । शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका रहेको छ ।

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक कांग्रेसले प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो । प्रदेश– १ सभापतिमा उद्धव थापा र गुरूराज घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै बाग्मती प्रदेशमा इन्द्र बाँनिया, जगदिशनरसिंह केसी र भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।

गण्डकी प्रदेशमा अर्जुन जोशीले रशुक्रराज शर्माले उम्मेदवारी दिएका छन् । लुम्बिनीमा प्रदेशमा भरतकुमार शाह र अमर पुनले उम्मेदवारी दिएका छन्। कर्णाली प्रदेशमा ललितजंग शाहीले, भुपेन्द्रजंग शाहीले र मोतिराज बमले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र र वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइए अनुसार नै काम भइरहेको काँग्रेसले जनाएको छ । प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुदै छ ।

कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था गरिएको छ । प्रदेश २ का केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन्। त्यहाँ महाधिवेशनपछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ । कांग्रेस महाधिवेशन काठमाडौँमा मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.