काठमाडौं । दुई नेपाली कामदारलाई वर्षौंसम्म मानसिक–शारीरिक प्रताडना दिएको र मानव तस्करी गरेको अभियोगमा फिनल्यान्डको स्थानीय अदालतले नेपाली दम्पतीलाई सजाय सुनाएको छ ।
हेलसिन्कीस्थित नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली संघ संस्थापकको हैसियतमा रहेका रेस्टुराँ हिमालयका सञ्चालक देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध दर्ता भएको मुद्दामा अदालतले शुक्रबार पीडितका पक्षमा फैसला सुनाएको हो ।
वर्षौंसम्म तोकिएको तलब सुविधा नदिइएको, मानसिक–शारीरिक प्रताडना र अमानवीय व्यवहार गरिएको भन्दै दोलखा मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अदालतले शर्मा दम्पतीलाई २० महिना ऐच्छिक जेल सजाय सुनाएको छ ।
तर, यसको हकमा ऐच्छिक भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेरेर ठगी तथा मानव तस्करीका अरू प्रकरण बाहिर नआएको खण्डमा ‘पुनर्विचार’ हुन सक्ने भनिएको छ । पीडित थापालाई झन्डै २ करोड ४० लाख रुपैयाँ (१ लाख ६५ हजार ६ सय ५८ युरो) र खरेललाई झन्डै १ करोड ८२ लाख रुपैयाँ (१ लाख २५ हजार ६ सय ९१ युरो) क्षतिपूर्ति रकम भराउन अदालतले आदेश दिएको छ ।
यो बाहेक अपमान, मनोवैज्ञानिक क्षति र जरिवानाबापत दुवै कामदारलाई झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने फैसला छ । यस्तै फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरुवात गरी गुल्मी, अर्घाखाँची, बागलुङ, पाल्पासहितका जिल्लाबाट आफन्तजनलाई ल्याएर रेस्टुराँका काममा लगाउँदै आएका शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएका थिए ।
सुरुमा फिनल्यान्ड जाँदा निःशुल्क लगिए पनि उता पुगेपछि सेवा सुविधा हेरी ७ देखि ८ हजार युरो शर्मा दम्पतीले लिने गरेको र फिनल्यान्डको श्रम ऐनअनुसार तलब, काम गर्ने समय तथा अवधिसमेत आफूखुसी गरिएपछि उनीविरुद्ध स्थानीय प्रहरी–प्रशासनमा उजुरी थपिँदै आएको थियो ।
