भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा

कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा

डोटी । जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनःसञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ ।

ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पुनः सञ्चालनमा आएको ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ ।

जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर बढ्दै गएपछि गत वैशाखबाट अस्पतालको ओपिडी सेवा बन्द भएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएका कारण उनीहरुलाई राख्ने ठाउँ नभएको र ओपिडी सुचारु गरे कोरोना सर्ने डरले केही महिना सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए । जिल्लामा कोरोना सङ्क्रमणका कारण हाल सम्म ११ व्यक्तिको ज्यान गएको छ भने एक हजार २०० भन्दा बढी सङ्क्रमित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.