कुन्तीको भावना
भनिन्छ गीत–संगीत समाजका ऐना हुन् । माया प्रेमका रंगीन किस्सादेखि घरपरिवारका दुःख, जिन्दगीका कथा–व्यथालाई संगीतले समेट्ने गर्दछ । विशुद्ध मौलिक सिर्जना नै संगीत हुनुपर्छ। तर, पछिल्लो समय बजारमा आएका गीतहरू मौलिक कम, भाइरल बढी देखिन्छन्। संगीतले अहिलेको समय र समाजलाई बोक्न सक्दैनन् ।
कोठामा बसेर दुर्गम गाउँको ठेट शब्द लेख्न गाह्रो हुन्छ । स्थानीय लय र लवज अनि झर्रा नेपाली शैलीका गीत–संगीत लेखिन छोडे । सुन्नलाई मात्रै लेखिएका गीतले मौलिकता जोगाउन सक्दैनन् । वर्षौं–वर्षसम्म श्रोताको जनजिब्रोमा झुन्डिएका मर्मस्पर्शी गीत–संगीत अझै अमर छन् । पुराना अग्रज कलाकारले सिर्जना गरेका गीतहरूले त्यही समयको समाजलाई बोक्छ ।
नेपाली सांगीतिक इतिहासमा सम्झनलायक सयौं गीतहरू आज पनि उत्तिकै मीठा सुनिन्छन् । अहिलेका पुस्ताले पनि पुराना गीत सुन्ने गरेका छन् । गीत लेखेर सार्वजनिक गर्दासम्म निकै खर्च भइरहेको हुन्छ। अहिलेको समयमा भाइरल हुने बहानामा गीतहरू बजारमा आएका छन् । म्युजिक भिडियो बनाउँदा पनि लागत बढी लाग्छ ।
थोरै पैसा हुनेले गीत गाउने र बजारमा ल्याउने उपाय नै छैन । गीत बेचेर आम्दानी हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन । डिजिटल मार्केटको प्लेटफममा गीत अपलोड भइसकेपछि भगवान भरोसामा छोड्नुपर्ने बाध्यता छ । नयाँ कलाकारलाई यो क्षेत्रमा टिक्न र काम गर्न निकै गाह्रो छ। कलाकारले लगाउने कपडा र फेसनमा पनि विकृति देखिन थालेको छ ।
चर्चाको नाममा गीत जे पनि भन्ने, जे पनि लेखीदिने र जस्ता पनि ड्रेस प्रयोग गर्ने प्रचलनले सम्रग संगीत क्षेत्रलाई असर गरिरहेको छ । यसको परिणाम स्वरूप चलेका भनिएका गीत केही दिन ‘हाईहाई’ हुने र त्यसपछि गुमनाम हुने गर्छन् । यसको असर कलाकारलाई पर्छ । गीत–संगीत क्षेत्रलाई सुधार्न कलाकार नै एकजुट हुनुपर्छ । चर्चाका लागि मात्रै भन्दा पनि जीवन्त र मौलिक गीतहरू रचना गर्नुपर्छ । नेपाली स्वादका गीत लेखिन बाँकी छन् । गाउँठाउँमा लुकेर रहेका भाकाहरू सार्वजनिक हुन बाँकी छन् ।
