मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२र६३ मा विस्तृत सर्भे गरी २०७२र७३ सालदेखि यो सडक निर्माण शुरु भएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगुको मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ुलाइफ लाइनु का रूपमा रहेको यो सडक खण्ड ९६ किलोमिटरको छ ।
थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडक माथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ । समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ ।
तत्कालीन जिल्ला विकास समिति मुगुका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आर्थिक वर्ष २०६२र६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरेको थियो । त्यस बेला सर्भे गर्दा यो सडकको लागत अनुमान २५ करोड रुपैयाँ गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि यो सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डीपीआर’ गरी विसं २०७३ देखि सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।
जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकायाले भन्नुभयो, ‘गमगढी–नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि सङ्घीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो । सदियौँदेखिको तिब्बतमा जडीबुटी, उन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने कर्णालीवासीको सपना साँघुरिँदै गएको छ ।’ सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी–नाक्चेलाग्ना सडकका लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले सङ्घीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुङ्गो छैन भन्नुभयो । सडकका लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको उहाँले बताउनुभयो ।
गएको आर्थिक वर्ष २०७८र७९ मा चार करोड ९३ लाख रुपैयाँ सडक निर्माणमा खर्च भएको थियो भने आर्थिक वर्ष २०७९र८० मा चार करोड ४० लाख रुपैयाँ खर्च भएको बताइएको छ । उहाँले गमगढीबाट मुगूम् कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएको जानकारी दिनुभयो ।
अहिलेसम्म सडक निर्माणका लागि झन्डै २० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ । गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवम् नागरिक अगुवा सन्तोषकुमार मल्लले भन्नुभयो, ‘गमगढी–नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्छ । यसका लागि जिल्लाका जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ ।’
