भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

गाउँमै उखु उद्योग खुलेपछि……….

गाउँमै उखु उद्योग खुलेपछि……….

महेन्द्रनगर, । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्र्पकविहीन बने”, चौधरीले भन्नुभयो, “विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।”

उर्मिला जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् । यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पुर्‍याउन भ्याइनभ्याइ छ । “पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौँ”, उनले भने, “अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेतीप्रति आकर्षित भएका छन् ।” कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ ।

चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलौरी नगरपालिका–७ टेडियाका कुलप्रसाद श्रेष्ठले बताए । उनले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य पाइरहेको बताए । “पहिले रु १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो”, श्रेष्ठले भन्नुभयो, “अहिले प्रतिक्विन्टल रु साढे चार सयमा बिक्री हुँदैछ ।” उनले दुई–तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भइरहेको बताए ।

“मैले एक बिघा खेतमा उखु लगाएर जिविका चलाएको छु”, श्रेष्ठले भने, “अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।” दुई दशकदेखि उखुखेती गर्दै आएका श्रेष्ठले यहाँ विगतमा किसानले बिक्रीका लागि निकै सास्ती भोगेको बताए । यहाँ यस पटक उखु उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष बेलौरीस्थित महाकाली चिनी मिलले १६ लाख क्विन्टल र पुनर्वासस्थित भागेश्वर चिनी मिलले १२ लाख क्विन्टल उखु खरिद गरेका थिए ।

त्यसैगरी यहाँको पुनर्वास नगरपालिकाका उखु किसान रामदास बडायकले आफूहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनुपर्ने बताए। “विगतमा मिलसम्म उखु पुर्‍याए पनि वर्षौसम्म मूल्य नपाएर चित्त बुझायौँ”, उनले भने, “सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए–नपाएका बारेमा नियमन गर्नुपर्छ ।” बेलौरी नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले जिल्लाको दक्षिणी भेग उखुको पकेट क्षेत्रका रुपमा विस्तार भइरहेको बताए ।

“बेलौरीमा ६ हजार ५०० बिघा क्षेत्रफलमा उखुखेती गरिँदैछ”, उनले भने, “तीन हजार ४०० किसान उखुखेतीमा आबद्ध छन् ।” उनले हरेक वर्ष उखुको मूल्य वृद्धि हुँदै जाँदा किसानको उक्त खेतीमा आकर्षण बढ्दै गएको बताए । महाकाली चिनी मिलका प्रशासकीय अधिकृत कालुसिंह ठगुन्नाले मिलका लागि २५ लाख क्विन्टल उखु आवश्यक भएको बताए । “यस याममा पाँच लाख क्विन्टल खरिद गरेका छौँ”, उनले भने, “मिललाई आवश्यक उखु उपलब्ध हुन सकिरहेको छैन ।” सो मिल २०६७ सालदेखि सञ्चालन गर्दै आएको ठगुन्नाले बताए ।

 


Thali Mobile Pvt.Ltd.