कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित शान्तिघाट खोलामा बाढी आएको छ ।
वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको थियो ।
थुनिएको पानी एक्कासि फुटेपछि खोलामा बाढी आएको हो ।
बाढीको जोखिम बढेपछि करिब डेढ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
मुम्राको बालीपाटादेखि गैराखाडा, लामाबगर हुँदै शान्तिघाटसम्म पानीको बहाव बढेको छ ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले खोला किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
काठमाडौं, १९ भदौ । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित शान्तिघाट खोलामा बाढी आएपछि खोला किनारमा बस्दै आएका करिब डेढ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीका अनुसार बिहीबार बेलुकीदेखि भएको वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको थियो । थुनिएको पानी एक्कासि फुटेपछि खोलामा बाढी आएको हो ।
बाढीपछि मुम्राको बालीपाटादेखि गैराखाडा, लामाबगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै बाढीको जोखिमसमेत बढेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब डेढ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।
बाढीबाट थप क्षति हुन नदिन खोला किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोला तथा नदी किनारमा रहेका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले बाढीको अवस्था र पानीको बहावबारे निगरानी गरिरहेको जनाइएको छ ।
