भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जनताले कहिले पाउने चामल र नुन ?

जनताले कहिले पाउने चामल र नुन ?

जाजरकोट । कर्णाली प्रदेशले उपलब्ध गराएको कामका लागि खाद्यान्न कार्यक्रमको चामल डोल्पाका चार स्थानीय तहमध्ये केही स्थानमा अझैसम्म पुग्न सकेको छैन । अन्य स्थानमा भने तोकिएको कोटामध्ये आधामात्र पुगेको छ । आव २०७७–७८ मा विकास निर्माणका काम गरेबापत गरिब तथा दलित समुदायलाई वितरण गर्नुपर्ने चामल जगदुल्ला गाउँपालिकामा अहिलेसम्म नपुगेको जनाइएको छ ।

उक्त कार्यका लागि प्रदेश सरकारले स्थानीय तहलाई बजेट पठाएकामा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खातामा जम्मा गरेर चामल माग गरेका थिए । लिमिटेडले समयमै ढुवानी नगर्दा काम गरेवापत पाउनुपर्ने चामल उक्त गाउँपालिकाका सर्वसाधारणले अहिलेसम्म पाउन नसकेका हुन् । प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीकानुसार काम गरिसकेका जनताले चामल मागिरहे पनि अहिलेसम्म आएको छैन ।

सोही कामकालागि त्रिपुरासुन्दरी नगरपालिकामा चामल पुगे पनि अहिले थन्क्याएर राखिएको प्रमुख प्रशासकीय अधिकृत पित्रृभक्त गिरीले बताए । आर्थिक वर्षको अन्तमा प्रदेशले बजेट पठाएका कारण काम दिन नसकेर सो चामल बन्द कोठामा थन्क्याइएको र आव २०७८–७९ मा काम गराएपछि मात्र वितरण गरिने उहाँको भनाइ थियो ।

त्यस्तै मुड्केचुला गाउँपालिकामा ७८० क्वीन्टल चामलमध्ये ७० प्रतिशत मात्र पुगेको अध्यक्ष दत्तबहादुर शाहीले बताए । बाँकी चामल छिटो ल्याउन ताकेता गर्दा पनि अहिलेसम्म आइनपुगेको उहाँको भनाइ थियोकाइके गाउँपालिकाले भने चामल खरिद गरेर वितरण गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष अङ्गत राना मगरकानुसार एक हजार २३ घरधुरीलाई ३७२ क्वीन्टल चामलमध्ये दलितलाई ६० केजी र निम्नवर्गलाई ३० केजीका दरले वितरण गरिएको थियो ।प्रदेशले जगदुल्लाका लागि ५५० काइकेका लागि ३७२  त्रिपुरासुन्दरीका लागि एक हजार ११५ र मुड्केचुला गाउँपालिकाका लागि ७८० क्वीन्टलको कोटा निर्धारण गरेको थियो ।

सदरमुकाम बाहिरका सबै खाद्य डिपो रित्तै

डोल्पाको दुनै, जुफालबाहेक लिमिटेडका सबै खाद्य डिपो रित्ता छन् । नयाँ चामल आउन समय लाग्ने र पुरानो सकिएकाले डिपोहरु रित्तो हुँदा सर्वसाधारण समस्यामा छन् । नयाँ चामल ढुवानीका लागि ठेक्का भइसकेकाले आउँदो दशैँसम्म ढुवानी हुने लिमिटेडका डोल्पा शाखाप्रमुख कमलराज पाण्डेले बताए ।

फोक्सुण्डोका लागि तोकिएको एक हजार ५०० क्वीन्टल चामलमध्ये गत पुस र माघमा केही वितरण गरिएको थियो । हिमपातका कारण रोकिएको बाँकी चामल अहिले पठाइएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका छ स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन् । मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपोे छ ।

तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशनका शाखाप्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । वर्षेनी सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ ।

सदरमुकाम बाहिरका मुड्केचुला गाउँपालिका १५० क्वीन्टल नुन लिमिटेडले नै खरिद तथा धुवानी गरेर वितरण गरे पनि अन्य ठाउँमा भने अभाव छ । यस आर्थिक वर्षका लागि भने नुनको टेण्डर आह्वान भइसकेको बताए।

 


Thali Mobile Pvt.Ltd.