सर्लाही । सर्लाहीका उखु किसानले सरकारी अनुदान बापतको रकम दसैंअघि नै भुक्तानी गर्न माग गरेका छन् । सरकारले केही दिनअघि मात्र यहाँका उखु उत्पादक किसानले पाउनुपर्ने गत वर्षको अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० सर्लाहीलाई निकासा गरेको थियो । यसका लागि रू। २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए ।
सर्लाहीका दुई ओटा चिनी उद्योगबाट क्रसिङ भएको तथ्याङ्कका आधारमा रू। २१ करोड ७९ लाख ३८ हजार ६५ आवश्यक भएपनि सरकारले २ दशमलव ५ प्रतिशत कम रकम निकासा गरेकाले किसानलाई भुक्तानी कसरी गर्ने भन्ने अलमलका कारण केही ढिलाई भएको उनको भनाइ छ । क्रसिङ सिजन २०७६र ०७७ को उखु अनुदान रकम प्रतिक्वीन्टल रू।६५ दशमलव ८ का दरले किसानलाई अनुदान भुक्तानी गर्न रू। २१ करोड ७९ लाख ३८ हजार ६५ आवश्यक रहेकोमा रू। २१ करोड ३४ लाख ९५ हजार मात्र प्राप्त हुन आएको कोलेनिकाले बताएको छ ।
अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु किसानहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्रसमेत बुझाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । जिल्लाका चिनी उद्योगमा छिमेकी जिल्लाका उखु उत्पादक किसानहरूले पनि उखु विक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको उनको भनाइ छ ।
दसैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाईदिन आग्रह गर्दै अध्यक्ष मैनालीको नेतृत्वमा गएको अगुवा किसानको एक समूहले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अघिल्ला वर्षहरूमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि यो वर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको कोलेनिका प्रमुख थपलियाको भनाइ छ ।
देशकै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीन ओटा चिनी उद्योग रहेपनि गत सिजनमा दुई ओटा उद्योगले मात्र क्रसिङ गरेका थिए । हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको थियो भने गोडैताको बगदहस्थित महालक्ष्मी सुगर मिलले ६ लाख ८ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । रासस
