दिउँसो तीन बजे माओवादी केन्द्रको महाधिवेशन उद्घाटन हुने

दिउँसो तीन बजे माओवादी केन्द्रको महाधिवेशन उद्घाटन हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र २ पछि सरेको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादी केन्द्रले आवश्यक तयारी गर्नुपर्ने भन्दै उद्‌घाटन सत्र दुई घण्टा पछाडि सारेको छ ।

दिउँसो १ बजे उद्घाटन हुने भनिएको महाधिवेशन दिउँसो ३ बजे उद्घाटन हुने भएको छ । दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ ।

यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय गरेको माओवादीले सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने निर्णय गरेको थियो ।

यसैबीच केन्द्रले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

अब १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ । पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि एक हजार ६ सय ३१ जना रहने व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.