भक्तपुर । नेपाल मजदुर किसान पार्टीका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुर नगरपालिकाको वडा सदस्यमा उम्मेदवारी दिएकामध्ये दुई सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध हुनेमा भक्तपुर नगरपालिका वडा नं ५ का दलित महिला सदस्य सरिना द्योला र वडा नं १० का विष्णुमाया कामी रहेकी निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ । उनीहरूलाई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच हुम्लामा अन्य राजनैतिक दलहरूका ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् । नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् ।
सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । सिमकोट गाउँपालिका– ४ को वडाध्यक्षमा प्रताप लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
