भक्तपुर । नेपालको प्रमुख पर्यटकीय स्थलमध्य एक नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी सडक महोत्सव आयोजना गरिएको हो । कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुने महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नवीन गुरुङ्गले जानकारी दिए ।
नगरकोटको पर्यटन प्रबद्र्धन गरी स्थानीय रैथाने वस्तुलाई बढावा दिन महोत्सव गर्न लागिएको उनको भनाइ छ । दिगो पर्यटन विकासका लागि नगरकोटलाई पर्यटन हब बनाउन, स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै नगरकोटको विकासमा योगदान पु¥याउन सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवमा स्टल संख्या २५ रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारद्धारा सांगीतिक प्रस्तुति रहने सचिब प्रदिप अधिकारीले बताए । स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारिता लगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए । महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको समितिका रोहित मोक्तानले बताए ।
एक लाखको हाराहारी सहभागी हुने अपेक्षा समितिले लिएको छ । महोत्सव अवधिभर ठूला तथा साना होटलहरुले १० प्रतिशतसम्म ग्राहक छुट दिने व्यवस्था गरिएको छ । कोरोना संक्रमणका बेला थला परेको पर्यटनलाई लयमा ल्याउन महोत्सव एक आयाम बन्ने आयोजकको भनाइ छ ।
नगरकोटमा हाल ठूलासाना गरी ८२ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।नगरकोटको महामञ्जुश्री चोकमा हुने महोत्सवको संचार सहयोगिमा कैलाश खबर टेलिभिजन, सगरमाथा टेलिभिजन, शिखर एफ एम, नगरकोट न्युज, संबाहक रहेका छन् ।
