भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिराले चार परिवार विस्थापित, बस्ती जोखिममा

पहिराले चार परिवार विस्थापित, बस्ती जोखिममा

पर्वत, । केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् ।

त्यस्तै आसपासका ६४ परिवार रहेको बस्ती पहिराको प्रत्यक्ष जोखिममा छ । पहिराका कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन । दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शङ्कर सुवेदीले बताए । विद्युत्को तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उनले बताए । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीले धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताए ।

“अघिल्ला वर्षमै धाँजा फाटेको थियो”, वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, “अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०–६५ परिवार विस्थापित हुनुपर्नेछ ।” नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् । पहिराले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनपश्चात् प्राविधिक टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको जानकारी दिए। “पहिरो खसेको स्थानमा तीन पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ”, उनले भने, “बाँकी दुई हटाउनुपर्ने छ ।” गत वर्षजस्तो ठूलो वर्षा नभए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.