काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको निधन भएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय हेल्थ असिस्टेन्ट (एचए) को निधन भएको हो ।
उपचारका लागि काठमाडौं लैजादै गर्दा हेल्थ असिस्टेन्टको बाटोमै मृत्यु भएको प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले बताए। भदौ ७ गते बिरामी भएका उनको १२ गते निधन भएको हो ।
स्थानीय निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । ती हेल्थ असिस्टेन्ट कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालकै पहिलो स्वास्थ्यकर्मी हुन् । यी सहित नेपालका मृतकको संख्या २२८ पुगेको छ । एकै दिन थप सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
७ वटा जिल्लाका एक बालिका, दुई महिला र चार पुरुष गरी सात संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । महोत्तरीका ४ वर्षीया बालिका, गोरखाको ६५ र रुपन्देहीको ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन् ।
हेर्नुहाेस् भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/915898905589048/
थप ८९९ जनामा कोरोना संक्रमण देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ । काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन् । देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन् भने थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्।
वीर अस्पतालमा कोभिड र ननकोभिड एकै ठाउँमा
वीर अस्पतालमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरेको पाइएको छ। अस्पतालको युरो ट्रान्जिसनल वार्डमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरिएको पाइएको हो ।
यति मात्र होइन, कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्ने गरेको समेत पाइएको छ। कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा जोखिम बढेको भन्दै बिरामी र स्वास्थ्यकर्मी त्रसित भएका छन् । कोभिड र ननकोभिड बिरामीले प्रयोग गर्ने शौचालय समेत एउटै छ । वार्डमा ननकोभिडका ८ जना र कोभिडका ५ जना संक्रमित उपचाररत छन् ।
