काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा १४ हजार ४ सय २ जना महिला निर्वाचित भएका छन् । परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । ४० दशमलव ८९ प्रतिशत अर्थात निर्वाचनमा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।
तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएकी हुन । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए । दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् ।
पालिका प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएकी हुन । दुवै जनाले कांग्रेसबाट उम्मेदवारी दिएकी थिइन् ।कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएकी छन् । नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएकी हुन् ।
प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएकी थिइन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकामा १ हजार ६२२ जना निर्वाचित भए । लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित भए । कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित भए ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५६० जना निर्वाचित भए । देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् ।
आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा, झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम, सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की, खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई, सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई, निर्वाचित भएकी छन् ।
यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी, सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भएकी छन् । सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भएकी छन् ।
सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु) निर्वाचित भएकी छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएकी छन् ।
पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएकी छन् ।
यस्तै दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।
एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको हो । काठमाडौँ महानगरपालिका उपप्रमुखमा सुनिता डंगोल निर्वाचित भएकी छन् । यो समाचार तयार पार्दा सम्म केही ठाउँको विवरण आउँन बाकी छ ।
