भर्खरै : Sorry, your browser does not support inline SVG.
चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह |

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

कास्की । पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक जोडी रतुवा मृग छाड्नुभएको हो । तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ वर्षको पोथी र लगभग सात वर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचघैयास्थित वन्यजन्तु उद्धार केन्द्रबाट ल्याइएको हो ।

डिभिजन वन कार्यालय कास्कीले रु १८ लाखको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो । वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले प्रदेशभित्रका विभिन्न दुर्लभ जीवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरी व्यवस्थित गर्दै लगिने जानकारी दिनुभयो । उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसका लागि सम्बद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

“प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ”, उहाँले भन्नुभयो, “अब प्राणी उद्धार केन्द्रमा उपचार गरिएका वन्यजन्तु बाहिर नपठाई प्रदेशभित्रै व्यवस्थापन गरिने छ ।” मुलुकका सामुदायिक वन समूहलाई समेत विभिन्न वन्यजन्तुको प्रजनन्स्थलका रूपमा विकास गरिने तयारी भइरहेको भन्दै उहाँले वन्यजन्तुलाई घेराभित्र नभई प्राकृतिकरूपमै प्रजनन तथा हुर्कने वातावरण बनाउँदै वन वातावरणको संरक्षणसँगै पर्यापर्यटन विकासमा जोड दिइने बताउनुभयो । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले वन तथा वन्यजन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार, प्रविधि एवं जनशक्तिको अभाव रहेको बताउँदै आवश्यक व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त स्थानमा स्थापित नर्सरीमा विभिन्न जातका ३० हजार बिरुवा उत्पादन भइरहेको बताउँदै उहाँले रु चार लाखको लागतमा वन रक्षाका लागि निर्माण गरिएका जीर्ण भवनको मर्मत गरिएको जानकारी दिनुभयो । पचघैया प्राणी उद्धार केन्द्रका व्यवस्थापक विनय अधिकारीका अनुसार उद्धार केन्द्रमा हाल १५ वटा रतुवा मृगसहित चरिबाघ, वन बिरोलो, हुचिल, गिद्ध नीलगाई, स्याल, पानी र सुक्खामा पाइने कछुवालगायतका विभिन्न १८ प्रजातिका वन्यजन्तु रहेका छन् । केन्द्रमा घाइते वन्यजन्तुको उद्धारका लागि एउटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.