काठमाडौं । फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले घोषणा गरे ।
सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताए । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने उनले बताए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।
अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको भन्दै फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।
सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्ने बताइएको छ । त्यसका लागि टाउकोमा लगाउने एउटा उपकरण (हेडसेट) प्रयोग गरिनेछ । अहिले भर्चुअल गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ ।
