बुद्ध जन्मस्थल लुम्बिनीमा विद्युतीय बस सञ्चालन

बुद्ध जन्मस्थल लुम्बिनीमा विद्युतीय बस सञ्चालन

लुम्बिनी । लामो प्रतिक्षा पश्चात् बुद्ध जन्मस्थल लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनमा आउने भएको छ । कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षबढी समयदेखि विद्युतीय सवारी थन्किएका थिए ।

अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया नखोलिदिँदा समस्यामा थलिएका थिए । थन्किएका ती सवारी सञ्चालनका लागि प्रदेश सरकारले कानुनी बाटो खुला गरेपछि अब छिटै सञ्चालनमा आउने भएका हन् ।

२०८० वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति दिने निर्णय गरेको हो ।

यो निर्णयले अलपत्र यी बस सञ्चालनका लागि बाटो खुला भएको छ । एसियाली विकास बैंक (एडीवी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत रु १३ करोड लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । लुम्बिनीमा रु १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.