भक्तपुर । कटुञ्जेस्थित गणेशमान सिंह स्मृति बाटीका तथा प्रतिमा स्थापना समिति परिसरमा गणेशमान सिंहको एक हजार दुई सय किलोग्रामको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण भएको छ । प्रतिमाको मंगलबार राष्टपति रामचन्द्र पौडेलबाट अनावरण गराउने कार्यक्रम तय भएको छ ।
ड्रोनमार्फत् सिंहको प्रतिमा अनावरण हुने कार्यक्रम बनाइएको छ । साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उदघाटन हुने भएको हो । २०४६ सालका जनआन्दोलन कमाण्डर लौहपुरुष गणेशमान सिंहको प्रतिमा अनावरण हुन लागेको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका सभापति माथबरसिंह बस्नेतले बताए ।
प्रतिमास्थल र बाटिकाको झन्डै २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गरेका थिए ।
हालको सूर्यविनायक नगरपालिकाको वडा नं–५ र ६ मा पर्ने ऐतिहासिक र धार्मिक महत्व बोकेको सुवर्णेश्वर डाँडामा नजिकै रहेको ाछ । यो ठाउँं भक्तपुरको सूर्यविनायकबाट करिव एक किलोमिटर दक्षिण गुण्डु जाने बाटोमै पर्दछ ।
वाटिका अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डमा पर्ने चुनदेवी वा पाण्डुबजारबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । यो वाटिकाबाट उपत्यकाका कान्तिपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर र शङ्करापुरसम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कुल १७५ रोपनी जग्गामा फैलिएको वाटिकामा पश्चिमतर्फ पर्ने ऐतिहासिक महत्वको सुवर्णेश्वर मन्दिर परिसरलाई समेत समेटिएको छ ।
वाटिका निर्माण परियोजनाको सम्पूर्ण कार्य पूरा गर्नका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ । वाटिकामा लालिगुराँसलगायत विभिन्न प्रजातिका फूल, काफल, कटुस, ऐँसेलु, चुत्रो जस्ता जङ्गली फल र विभिन्न प्रजातिका बोटबिरुवा, करिब ९९ प्रकारका चराचुरुङ्गीको अध्ययन गर्न सकिने भएको जनाइएको छ ।
यसले खोज तथा अनुसन्धान गर्नेहरूका लागि महत्वपूर्ण स्थल हुनसक्ने समितिका सचिव पूर्णसिंह विसन्खेले बताए । बाटिकालाई गणेशमान सिंहका संघर्ष र त्यागका कथाका अतिरिक्त प्रजातन्त्रका शहीदहरुका जीवन र संघर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ र अनुभबीहरुबाट प्रवचन गराउने, छलफल चलाउने र त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरुक तुल्याउने बाटिकाको लक्ष्य रहेको छ ।
२६ औ स्मृतिमा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने वाटिकाको तयारी गरेको हो । गणेशमान सिंह स्मृति बाटिका प्रतिमा अनावरण संरक्षण समिति २०५४ सालमै बनेको थियो । माओबादी द्वन्द र अन्य विभिन्न कारणले अहिलेसम्म पनि सिंहको प्रतिमा बन्न नसकेको बताइएको छ ।
सिंहको प्रतिमा अनावरणपश्चात बाटिका क्षेत्रलाई प्रजातन्त्रिक आन्दोलनका शहीदहरुको जीवनीमा आधारित सामाग्री संग्रह गर्ने, संग्रहालय, पुस्तकालय, योगपार्क, चिल्डे«न पार्क, भ्यू टावर, पिकनिक स्थल निर्माणलाई जोड दिने बाटिकाका योजना छन् ।

