भीम रावललाई भोट नदिन भनिएपनि एमाले महाधिवेशनको मतदान जारी, साँझसम्म नतिजा आउने

भीम रावललाई भोट नदिन भनिएपनि एमाले महाधिवेशनको मतदान जारी, साँझसम्म नतिजा आउने

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि अहिले मतदान भइरहेको छ । राति ९ बजेदेखि मतदानको समय तय गरिएकोमा निर्धारित समयभन्दा सात घण्टापछि बिहान ४ बजेदेखि मात्रै मतदन सुरू भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र डा. भीम रावलले मतदान गरेका छन् । त्यसपछि विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पहिलो लटमै भोट हालेका छन् ।

विद्युतीय मेसिनमार्फत जारी मतदान लगत्तै मतगणना हुने र मतदान सकिएको केही घण्टामै मतपरिणाम सार्वजनिक गर्ने बताइएको छ । मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३ सय १ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेश गरेका थिए ।

बहुदलिय प्रतिस्पर्धामा किन फेरी शासन भनेर भीम रावलले कुरा उठाएपछि ओलीले पेस गरेको प्रस्तावमा हलले असन्तुष्ट जनायो । कतिपय पदमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनावी प्रक्रियाबाट छनोट हुने भएको हो । ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन् । नेता भीम रावलकै कारण ओली चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ ।

उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिएका छन् । ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका हुन् ।

नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले पर्चा समेत बाँडेका छन् ।मतदान गर्न लाइनमा बसेका प्रतिनिधिहरुलाई सो पर्चा बाँडिएको हो । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ ।

त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा अग्रस्थानमा राखिएको छ । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास अन्तत असफल भएपछि आज बिहान ४ बजेदेखि मात्र मतदान सुरु भएको हो । रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई बन्दसत्र हलको परिसरबाट बाहिर निकालिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.