माओवादी महाधिवेशनः आजबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने

माओवादी महाधिवेशनः आजबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा आज शुक्रबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुन थालेको छ ।​ अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको हुँदा यो प्रक्रियामा गएको नेताहरुले बताए।

बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी,

समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिस्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाईंले निष्कर्ष प्रस्तुत गरेका थिए । यस्तै समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर,

समूह ९ लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश २ बाट भवानी थापाले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए । बन्दसत्र फेरि आज अपराह्न १ बजेबाट सुरु हुने र त्यसमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र प्रचण्डले आफ्नो दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको नेता महराले बताए । उनका अनुसार प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।अनिमात्रै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.