काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएएको छ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।
निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिन सकिनेछ । १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने बताइएको छ। रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था रहेको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुने निर्वाचन कार्यक्रम छ । निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ भने पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् ।
माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आन्तरिक तयारी कार्य तीव्ररुपमा अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले बताए । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख हुनेछन् ।
उक्त निर्वाचनका लागि अर्थ मन्त्रालयबाट पाँच करोड ९० लाख बजेट आयोगले प्राप्त गरिसकेको छ । निर्वाचनका लागि १५ कार्यालय स्थापना हुनेछ ।राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन्।
सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहका सात पदका लागि निर्वाचन हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट विज्ञका रूपमा मनोनित रामनारायण बिडारीको पदावधि पनि फागुन २० गते समाप्त हुँदैछ ।
