भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

जलेश्वर । विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ। त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम र जनकपुरका राजा जनककी छोरी सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झिँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन छ।

यो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी सो विवाह महोत्सवमा उपस्थित हुने चलन छ। सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने चलन छ। प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साताअघिदेखि नै जनकपुर जाने गर्छन्।

यो अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन छ। रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन छ। आइतबार जनकपुरमा हुने विवाह पञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेका छन्।

अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ। जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन रहेको लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले बताए। महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउँछन्। विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाखौँ भक्तजन उत्सवमा सहभागिता जनाउँछन्।

विवाह पञ्चमी उत्सवअन्तर्गत यसपालि मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि तथा आगामी पुस १ गते स्वयंवर तथा शुभविवाह र पुस २ गते राम कलेवाको कार्यक्रम तय गरिएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.