काठमाडौं । नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी छनौटका लागि वरिष्ठतालाई आधार बनाएको छ । मिसनमा जान भनसुन र आर्थिक चलखेल हुने गरेको व्यापक गुनासो आउने गरेका वेला नेपाल प्रहरीले छनौटको मापदण्डलाई संशोधन गरेको हो ।
यूएन फम्ड पुलिस युनिट छनौट मापदण्ड, २०७७ लाई गृह मन्त्रालयले स्वीकृत गरेको प्रहरीको यूएन शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वीरेन्द्र बस्यालले बताए । अब हरेक प्रहरी अधिकारीले मिसन जानलाई आउने पालोबारे पहिल्यै अनुमान गर्न सक्नेछन् भने भनसुन र चाकडी अन्त्य हुने छ । प्रहरी प्रधान कार्यालयमा रहेको कर्मचारी प्रशासन शाखाको डेटावेसका आधारमा वरिष्ठता तय गरिने मापदण्डमा उल्लेख गरिएकाे छ ।
यसभन्दा पहिले नेपाली सेनाले शान्ति सेनाको कार्यविधि संशोधन गरेर वरिष्ठतालाई आधार बनाएको थियो भने सशस्त्र प्रहरीले पनि यो अभ्यास गरिरहेको छ । राखिएका कोटा दुरुपयोग हुने गरेकाे गुनासो आएपछि विशिष्ट योगदान गरेवापत दिइने कोटा पनि खारेज गरेको छ । नयाँ मापदण्ड लागू भएसँगै शान्ति मिसनको छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
