भक्तपुर । दिवंगत अथवा मृतकको आत्माको शान्तिको कामना गर्दै भक्तपुरबासीहरु यतिबेला सापारु अर्थात गाईजात्रा मनाउँन व्यस्त छन् । हास्यव्यङ्ग्य र ख्यालठट्टासहित उपत्यकाकालगायत नेवार समुदायले आज भव्यताकासाथ यो पर्व मनाइरहेका छन् ।
बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइरहेका छन् । नाचगानको राजधानी भक्तपुर आफैमा धार्मिक एवं सांस्कृतिक महत्वको सहर हो । यो सहरमा आज गाईजात्रा मौलिक शैलीमा मनाइदै छ ।
आँसु र हाँसोको सङ्गमको पर्वका रुपमा पनि गाईजात्रा पर्वलाई लिइन्छ । शोकलाई शक्तिमा बदलेर हाँसोमा परिवर्तन गर्दै प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वको रुपमा समेत यस गाईजात्रा पर्वलाई लिने गरिएको छ ।
मृतकका घरबाट गाईजात्रा निकाल्दा आफन्तजनले मृतकको सम्झनामा रुनु पर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरबासीले मनाउँदै आएका छन् ।
भक्तपुरको गाईजात्रा हेर्न उपत्यकाकालगायत बनेपा, धुलिखेल र पनौतीलगायत देशका विभिन्न जिल्ला तथा विदेशी नागरिकको भिड निकै लागेको छ ।
हजारौंको सङ्ख्यामा दर्शक चोक चोक गल्लीमा दर्शकहरुले भक्तपुरको गाईजात्रा पर्व नियाली रहेका छन् । भक्तपुरमा गाईजात्राको औपचारिक सुरुआत जनै पूर्णिमाको साँझ नै गरिन्छ । जनै पूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको हो ।
जनैपूर्णिमाको साँझ शुरु भएपनि सर्वसाधारणले मुख्यरुपमा भाद्र शुक्ल प्रतिपदाको दिन सापारु अर्थात् गाईजात्रा मनाउने गर्दछन् । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन बिहान सबेरै दरवार क्षेत्रस्थित तलेजु भवानीको र अन्त्यमा साँझ टौमढीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगर परिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास रहेको छ ।
यसैशिलशिलामा आज भक्तपुरका विभिन्न ठाउँमा मानिसको घुइचो लागेको छ । र गाइजात्रा पर्व मनाइरहेको छ । कैलाश खबरले विहानै देखि लाइभ पनि गरिरहेको छ ।
