काठमाडौं । कोरोना कहरमा लकडाउन, निषेधाज्ञा र घरभित्र बस्नाले मोटोपनको समस्या निम्तिए धेरैले अनुमान गरेका छन् । घरबाटै सम्पूर्ण कार्यालयका कामदेखि स्कुल, क्याम्पसका पठनपाठन अनलाइन संचालन भइरहँदा आम जनमानसको जीवनशैली आसिन बनेको पक्कै हो । मानिसमा धेरै खाने, बढी सुत्ने बानी बढ्दो छ ।
यस्तो अल्छिपना र आलस्यताले गर्दा तौल बढेको गुनासो गर्ने पनि यहाँ धेरै छन् । शरीरमा आवश्यकता भन्दा बढी तौल हुनुलाई मोटोपन भनिन्छ । शरीरको उचाईको अनुपातमा तौल साधारण बनाउन सन्तुलित आहारको भूमिका महत्वपूर्ण हुन्छ । सामान्य जीवनशैली र अनियन्त्रित भोजन मोटोपनका प्रमुख कारक हुन् ।
शरीरका महत्वपूर्ण कार्यहरु निर्वाह गर्न उर्जाको आवश्यकता पर्दछ र उर्जा प्राप्तिका लागि उपयुक्त पोषणतत्व जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिज पदार्थको विशेष भुमिका छ । शरीरलाई चाहिने भन्दा बढी उर्जा उत्पादन भएको खण्डमा उर्जालाई खपत गराउन नियमित व्यायाम तथा शारीरिक योगले क्यालोरी बर्न गराउने डिफेन्सिभ पद्धतीमा जोड दिनुभन्दा हामीले खाने प्रत्येक खानाको क्यालोरीलाई ध्यान दिए अनावश्यक उर्जा नियन्त्रणमा ल्याउन उपयोगी हुन्छ ।
मोटोपनलाई समाधान गर्न
- दैनिक थालीमा सन्तुलित आहार खाने बानी बसाल्नुपर्छ । कार्बोहाइड्रेट पाइने अन्न तथा कन्दमूल जस्तैस् मकै, गहुँ, फापर, आलु, चामल सामान्य मानिसले ५५देखि ६० प्रतिशत आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्दछ ।
- माछा, मासु, अन्डा, दही, चीज, दाल तथा गेडागुडीबाट प्रशस्त प्रोटिन पाउन सकिन्छ । दैनिक १५देखि २५ प्रतिशत प्रोटिन शरीरलाई आवश्यक पर्दछ । भिटामिन तथा महत्वपूर्ण खनिजतत्व प्राप्त गर्न तरकारी, हरियो सागसब्जी, फलफूल दैनिक ३ सय देखि ४ सय ग्रामसम्म प्रयोग गर्नु पर्दछ ।
- घीउ, तेल, बदाम, बटरमा पाइने चिल्लो पदार्थ अर्थात् फ्याट दैनिक २० देखि २५ प्रतिशत समावेश गर्नुपर्दछ ।
- नियमित ब्रेकफास्ट प्रयोग गर्नाले पेट भोको नरहने हुँदा धेरै खाने प्रवृतिलाई रोक्न मद्दत पुर्याउँछ ।
- कम खाने र पटक–पटक नियमित समयमा खाने बानीले क्यालोरीलाई नियन्त्रणमा ल्याउन मद्दत पुर्याउँछ ।
- मैदाजन्य खानेकुरा पास्ता, चाउचाउ, बिस्कुट, मस्म, चाउमिन, थुक्पाको प्रयोग कम गर्ने र गुलियो कुकिज, डुनट र उच्च क्यालोरी हुने केकको प्रयोग कम गर्नु पर्छ ।
- मौसमी रंगीबिरंगी फलफूल दैनिक २,३ पटक खाने बानी बसाल्नाले यसमा पाइने रेशाले भोक ढिला लगाउनुका साथै पेट भरी भएको महसुस गराउँछ । जसकारण तौल नियन्त्रणमा मद्दत पुग्दछ । दैनिक २१ देखि ३५ ग्राम रेशा ९फाइबर० शरीरलाई आवश्यक पर्दछ ।
- बिस्कुट, कुकिज, चकलेटको प्रयोगको सट्टा फाइदाबद्र्धक चिल्ला खानेकुरा ओखर, काजु, बदाम, पेस्ता दैनिक १५ देखि २० ग्राम भोक लागेको समयमा खाँदा मस्तिस्क स्वच्छ हुनुका साथै पेट गह्रौ भएको महसुस गराउँछ ।
- अंकुरित प्रकृयाबाट गेडागुडीको टुसा उमारेर दैनिक २५ देखि ३० ग्राम बिहान नास्ताको समयमा प्रयोग गर्नाले फाइबर प्रदान गराउनुका साथै तौल घटाउन मद्दत पुर्याउँछ ।
- शरीरमा पानीको मात्रा ७०देखि ९० प्रतिशत हुने भएकाले दैनिक ६ देखि ८गिलास पानी प्रयोग पिएमा निर्जलीकरणबाट जुध्न साथै तौल घटाउन मद्दत पुग्छ ।