यसरी भएकाे थियाे नेपालमा ४५ जना काेराेना संक्रमितकाे मृत्यु (विवरणसहित)

यसरी भएकाे थियाे नेपालमा ४५ जना काेराेना संक्रमितकाे मृत्यु  (विवरणसहित)

१० साउन २०७७ काठमाडाैं । नेपालमा पछिल्लो पटक थपिएकासहित संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ । ती मध्य हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ । हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मृत्यु भएकाकाे विवरण

१. सिन्धुपाल्चोकी २९ वर्षीया महिलाको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । १० दिनकी सुत्केरी उनलाइ श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा नै मृत्यु भएकाे उनकाे मृत्युपछि गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएको थियो ।

२. वैसाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका बाँके नरैनापुरमा २५ वर्षीय युवकको जेठ ४ गते मृत्यु भयो । मृत्यु हुनुअघि निरन्तर वाकवाकी र झाडापखाला लागेको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युपश्चात् कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

३. रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका ४१ वर्षीय शिक्षकको जेठ ८ गते मृत्यु भएको थियो । उपचारका क्रममा उनलाई कोरोना भाइरस पुष्टि भएको थियो ।

४. जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । मृत्युको पुष्टि जेठ १२ गते भएको थियो । उनलाई श्वारप्रश्वासको समस्या थियो ।

५. कलेजोको समस्या भई किस्ट अस्पतालमा उपचाररत ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको थियो । उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

६. भारतबाट फर्किँदै गर्दा जेठ १० गते बाटैमा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृत्युपश्चात् गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना भएको पुष्टि भएको थियो ।

७. दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा जेठ १९ गते ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

८. बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी २ वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो ।

९. जेठ २१ गते दोलखा घर भएका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । उनलाई हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरिएको थियो । उनको काठमाडौं मेडिकल कलेज सिंगामंगलमा उपचारका क्रममा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्ज सारिएको थियो ।

१०.जेठ २० गते पाल्लामा एक संक्रमितको मृत्यु भयो । पाल्पा सिलुवाखोलाका क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषलाई निमोनिया देखिएको थियो । उनको मृत्युपश्चात् पिसिआर जाँच गर्दा कोरोना देखिएको थियो ।

११. सुर्खेत पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको जेठ २३ गते मृत्यु भएको थियो । जेठ ७ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनको आरटिडी परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २२ गते घर पठाइएको थियो । तर उनको २३ गते मृत्यु भयो ।

१२. डोल्पाका जगदुल्ला गाउँपालिका-३ घर भएका ५८ वर्षीय पुरुषको जेठ २२ गते मृत्यृ भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गर्दा जेठ २४ गते कोरोना पुष्टि भएको थियो ।

१३. धनगढी ४ की मृगौलाको समस्या भएकी ५५ वर्षकी महिलाको सेती अस्पतालमा डायलसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो । उनको जेठ २४ गते कोरोना पुष्टि भएको थियो ।

१४. स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको जेठ २६ गते मृत्यु भएको थियो। उनी मिर्गौला रोगी थिए । मृत्युपछि गरिएको पिसिआरमा कोरोना पुष्टि भएको थियो ।

१५. चितवन भरतपुर-११ का निमोनिया भएका पुरुषको जेठ २७ गते मृत्यु भएको थियो ।

१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुषको जेठ २९ गते मृत्यु भयो ।

१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घण्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा मृत्यु भएको थियो। बेवारिसे लास फेला परेकोमा पोस्टमार्टमका लागि लगिएको र स्वाब परीक्षण गर्दा जेठ ३० गते कोरोना संक्रमण भेटिएको थियाे ।

१८. जेठ ३० गते बारा जिल्ला निजगढ नगरपालिका-६ योजनाटोल निवासी ५ वर्षीय बालकको मृत्यु भएको थियो । उनलाई कफ र ज्वरो देखिएको थियो । उपचारका क्रममा उनको नारायणी अस्पताल वीरगञ्ज मृत्यु भएको थियो।

१९. गुल्मीका ३६ वर्षीय पुरुषको रेसुङ्गामा आइसोलेसनमा जेठ ३१ गते मृत्यु भएको थियो ।

२०. बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको असार १ गते मृत्यु भएको थियो । फोक्सो, मिर्गौला र प्यारालाइसिलकी समस्या थियो ।

२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भएको थियो ।

२२. असार २ गते कैलालीको लम्किचुहाकी ४३ वर्षकी महिला मृत्यु भएको थियो । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।असार ३ गते पुष्टि भएको थियो ।

२३. गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएको उनको असार ५ गते मृत्यु भएको थियो।

२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको थियो।

२५. स्याङ्जाको आँधीखोलाका ५६ वर्षीय पुरुषको असार १० गते मृत्यु भएको थियो । उनको असार ११ गते कोरोनाको पुष्टि भएको रिर्पोट आएको थियो ।

२६. काठमाडौंका ४९ वर्षीय पुरुषको असार ११ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।

२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी अन्दाजी ३० वर्षकी महिलाको असार ११ गते मृत्यु भएको थियो । असार १२ गते नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

२८. असार १३ कैलालीको गोदावरी नगरपालिक का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।

२९. रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते मृत्यु भएको थियो। स्वासप्रस्वासको समस्या भएको थियो। तर, उनको कोरोना पुष्टि भएको रिर्पोट १४ गते आएको थियो।

३०.अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो। स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो। उनी मधुमेहका बिरामी थिए। मृत्युपछि नमुना परीक्षण गर्दा १६ असारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका-४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा असार १७ गते मृत्यु भएको थियो। शिशुको मृत्यु हुनु ३ दिन अगाडि नै कोरोना पुष्टि भएको थियो।

३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएको थियो। उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। असार १९ गते कोरोना पुष्टि भएको जानकारी दिइएको थियो।

३३. गोरखा पालुङटार ४४ वर्षका पुरुषको असार २० गते मृत्यु भयो। असार १९ गते कोरोना पुष्टि भएको थियो। उनी कतारबाट नेपाल फर्किएपछि पालुङटार क्वारेन्टाइनमा राखिएको थियो।

३४. असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचाररत रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनी क्षयरोगका बिरामी थिए। उनलाई कोरोना भएको पुष्टि असार २० गते भएको थियो।

३५. बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।

३६.असार २६ गते काठमाडौं वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको थियो। फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि असार १७ गते भएको थियो।

३७. असार २५ गते सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको थियो। उनको असार २२ गते कोरोना पुष्टि भएको थियो।

३८. असार २५ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनको कोरोना पुष्टि भएको थियो।

३९. असार ३१गते रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो।

४०.साउन २ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो।

४१. साउन ६ गते भर्ना अस्पताल भर्ना गरिएका जनकपुर नगरपालिका धनुषा एक पुरुषको मृत्यु भएको थियो।

४२. साउन ७ गते त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको थियो। मुटुको समस्या भएकी ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मृत्यु भएको थियो।

४३. साउन ६ गते नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन ६ गते बिहान अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको थियो।

४४. साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो।

४५.साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर-८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको थियो।

 


Thali Mobile Pvt.Ltd.