रामेछाप, २६ भाद्र । जिल्ला कारागार रामेछापमा बिहीबार बिहान कैदीबन्दीहरू भाग्न खोजेपछि गोली चल्दा ३ जनाको मृत्यु भएको छ।
कारागार भित्र रहेका कैदीहरूले जेलको भित्री गेट तोडी बाहिरी गेट तोड्न लागेपछि स्थितिलाई नियन्त्रणमा लिन खटिएको नेपाली सेनाले गोली चलाएको थियो।
गोली लागेर घाइते भएका कैदीमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको रामेछाप अस्पतालले पुष्टि गरेको छ। यस घटनामा थप १३ जना कैदीहरू घाइते भएका छन्। घाइते कैदीहरूलाई जिल्ला अस्पताल रामेछापमा उपचारका लागि पुर्याइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
गोली चलेको आवाज बिहानै रामेछाप बजारका स्थानीयले सुनेको बताएका छन्। रामेछाप कारागारमा हाल ३३५ जना कैदीबन्दी रहेका छन्। स्थिति नियन्त्रणमा आएको र थप अप्रिय घटना रोकिएको रामेछाप प्रशासनले जनाएको छ।
