काठमाडौं । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कक्षमा आयोजित समारोहमा राष्ट्रियसभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त समारोहकाबीच गत माघ १२ मा निर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे ।
राष्ट्रियसभामा निर्वाचनमा सत्तागठबन्धनका दलहरुले चुनावी तालमेल गरेका थिए । गठबन्धनका दल नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए ।
यता, सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी रहेको बताइएको छ ।
