भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

सङ्कटमा परम्परागत ढुङ्गाखानी

सङ्कटमा परम्परागत ढुङ्गाखानी

गलकोट । जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ ।जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ । परम्परागतरूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आउनुभएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा परेको हो । पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन् ।

“पन्ध्र वर्षको उमेरदेखि ढुङ्गाखानीमा काम गर्न थालेको हँु, त्यसबेला रु ११ मा एक हात बिक्री हुने ढुङ्गा अहिले रु एक सय ३५ मा बिक्री भइरहेको छ, परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा यही ढुङ्गाखानीबाट गरियो”, विश्वकर्माले भन्नुभयो, “अहिले ढुङ्गासमेत त्यति राम्रो निस्किँदैन, निस्केका ढुङ्गा पनि बिक्री गर्न समस्या छ, अहिले जताततै जस्ताले छाएका र आरसिसी घर निर्माण हुन थालेपछि ढुङ्गाखानी सङ्कटमा परेको छ ।”हाते औजारको सहायताले ढुङ्गा निकाल्दै आएका मजदुरले पछिल्लो समय दिनभरि काम गर्दासमेत हात–मुख जोर्न समस्या हुन थालेको बताएका छन् । “सुरुबाटै यही काम गरियो, अरु काम गर्न सिकिएन, अहिले ढुङ्गा निस्कन मुस्किल छ, खानीभित्रभित्रै पसेको छ भने व्यापार घटेर गएको छ, निकालेको ढुङ्गा कहिले बिक्री हुन्छ थाहै हुन्न”, अर्का ढुङ्गाखानीमा काम गर्दै आएका मजदुर हिमबहादुर श्रीसले भन्नुभयो ।

“अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुङ्गा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौँ, यहाँ त्यस्तो छैन, हातले मिलाएको ढुङ्गा घर छाउनबाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसिसी भवन बनाउन थाले, अब ढुङ्गाखानीमा काम गरेर पेट पाल्न सकस छ”, उहाँले भन्नुभयो । पहिला यही ढुङ्गाखानीबाट परिवार लालनपालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुङ्गाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी छ ।

ढुङ्गाखानीमा काम गर्ने बूढापाका बितेर गए भने युवा विदेश पलायन हुँदा ढुङ्गाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुङ्गा व्यापारी मनिकर्ण क्षेत्रीले दुःखेसो गर्नुभयो । क्षेत्रीले ४५ वर्षदेखि मजदुरले निकालेको ढुङ्गा विभिन्न स्थानमा पु¥याएर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । तर अहिले घर छाउने ढुङ्गाको महत्व घट्दै गएपछि यहाँको ढुङ्गाखानी समस्यमा परेको उहाँको भनाइ छ । उहाँले आधुनिक ढुङ्गाको चलन कायमै रहे पनि हाते औजारको प्रयोगबाट निस्किएका ढुङ्गा घर छाउनमात्रै काम लाग्ने भएकाले समस्या भएको बताउनुभयो ।

“पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, यहाँको घर छाउने ढुङ्गा जैमिनी, बरेङ, गुल्मीलगायतका स्थानसम्म पुग्दथ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थाले, जस्तापाता र ढलान गरेर घर बनाउँदा ढुङ्गा बिक्री हुनै छाड्यो”, क्षेत्रीले भन्नुभयो, “ढुङ्गाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टाँस्ने ढुङ्गा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुङ्गाखानी भिरालो जग्गामा छ, विद्युत् पुर्‍याउन समस्या छ ।”

परम्परागत तरिकाले सञ्चालनमा आएको ढुङ्गाखानी दर्ता भएर सञ्चालनमा आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनुपरेको ढुङ्गाखानीमा काम गर्ने मजदुरले बताएका छन् । उनीहरूले ढुङ्गा निकालेवापतको केही रकम ढुङ्गाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन् । अहिले ताराखोलाको ढुङ्गा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कार्यका लागि होटल, मन्दिर तथा घरधनीबाट अत्यधिक माग आउने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.