सम्पदा संरक्षण परिषदद्वारा भक्तपुरका महत्वपूर्ण सम्पदाहरुको अवलोकन

सम्पदा संरक्षण परिषदद्वारा भक्तपुरका महत्वपूर्ण सम्पदाहरुको अवलोकन

भक्तपुर । सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको प्रतिनिधिमण्डलले नगरभित्रका सम्पदाको अवलोकन गरेको छ । भेटका क्रममा नगरपालिकाका जनप्रतिनिधि र सो टोलीबीच नगरको शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणलगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न भयो ।

सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नेपालमा सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्तिले गर्दा यसको सुरक्षा चुनौतीपूर्ण बन्दै गइरहेको भन्दै सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । भक्तपुर नपाले विदेशी सहयोगविना नै सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइरहेको बताउदै भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माण र भक्तपुरको विकास निर्माणका काममा नगरबासीहरुको निरन्तर साथ र सहयोग पाइरहेको बताए ।

भक्तपुरको सांस्कृतिक सम्पदा, मौलिक सीप, स्थानीय खेलहरु आदि संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहित नपा अगाडि बढिरहेको उनले बताए । सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानले भक्तपुरका मूर्त अमूर्त सम्पदाहरुको स्थलगत अवलोकन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए भक्तपुरमा सम्पदा संरक्षण कार्यहरु निकै सराहनीय ढंगले भइरहेको बताए ।

BKTनेपालकै पहिचान संरक्षण गर्ने ढंगले काम गरिरहेको र सम्पदा संरक्षण गर्ने अभियानमा भक्तपुर नपा अग्रस्थानमा रहेको चर्चा गर्दै अध्यक्ष प्रधानले काठमाडौंको ठमेलस्थित पुरातात्विक कमलपोखरी संरक्षण र पुनःस्थापना अभियानमा भक्तपुरका जनताको निरन्तर साथ र सहयोग पाइरहनेमा विश्वास व्यक्त गरे । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्रतिनिधिमण्डल टोलीलाई भक्तपुरको भादगाउँले टोपी र थैली दिई स्वागत गरे ।

सोही क्रममा अध्यक्ष भागवत नरसिंह प्रधानले पनि प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए । टोलीलाई पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको सिद्धपोखरी, भाजु पोखरी, नःपुखु, भक्तपुर दरबार क्षेत्र, तलेज परिसर, वत्सला मन्दिर, टौमढी, दत्तात्रय स्क्वायर, जनस्वास्थ्य सेवा केन्द्रलगायतका सम्पदाहरुको स्थलगत अवलोकन गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.