भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

सयपत्री फूलले बढायो तिहारको चहलपहल

सयपत्री फूलले बढायो तिहारको चहलपहल

रामपुर, । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र रु घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । बुटवल, तानसेन, नेपालगञ्जलगायत विभिन्न बजारबाट फूलको माग अत्यधिक आएको छ तर स्थानीयलाई नै प्राथमिकता दिने गरी यस पटक भने बाहिरी बजारमा निर्यात नगर्ने थापाले बताए ।

“विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल रामपुरमा नै खपत गर्नेछु”, उहाँले भन्नुभयो । यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेको लर्को देख्दा आनन्दानुभूति लागेको उनले बताए । उहाँले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाउनुभएको छ । यस पटकको तिहारमा मात्रै फूल बिक्रीबाट करिब रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने उहाँको लक्ष्य छ ।

एक मालाको रु १५० र एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । युवा उद्यमी थापाले तीन वर्ष अघिदेखि फूलको व्यावसायिक खेती गर्नुभएको हो । तरकारी खेतीमा लाग्नुभएका थापाले परीक्षणका रुपमा सयपत्री फूल लगाउनुभएको छ । उहाँले यसमा ग्राहकको आकर्षण र माग बढेपछि व्यावसायिक रुपमा खेती गरिरहनुभएको छ । यसभन्दा अघि तीन पटक सयपत्री फूलको उत्पादन लिइसक्नुभएको छ । तरकारी खेतीको तुलनामा फूलबाट दोब्बर कमाइ गर्नसक्ने उहाँको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, “आम्दानीका हिसाबले हेर्ने हो भने फूलबाट धेरै कमाउन सकिन्छ, यहाँ व्यावसायिक खेती अन्यत्र नहुँदा पनि माग धेरै आउँछ, तर पु¥याउनै सकिँदैन, व्यवसाय विस्तार गर्दै जानुपर्ने छ ।” उहाँले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी र फूल व्यवसाय एकैसाथ अगाडि बढाउनुभएको छ । यस व्यवसायमा थापाका श्रीमती सुकमाया सारुले सघाउँदै आउनुभएको छ । श्रीमान् श्रीमतीको अहिले दिनचर्या नै फूल टिप्ने, माला तयार पार्नेजस्ता कार्यमा बितेको छ ।

घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको सुकमाया बताउनुहुन्छ । “फूल उत्पादन गर्न थालेपछि हाम्रो परिवारको पहिचान नै फेरिएको छ, यहाँ दैनिक अवलोकन गर्न आउनेको चहलपहल देख्दा रमाइलो लाग्छ, आम्दानी पनि भयो, हेर्दा सुन्दरता दिने फूलले सबैलाई लोभ्याएको छ”, उहाँले भन्नुभयो । उहाँले पहिलो वर्षको तिहारमा करिब रु एक लाख, दोस्रो वर्ष गत वर्ष करिब रु दुई लाख ५० हजार फूल बिक्रिबाट आम्दानी गर्नुभएको छ । रामपुर नगरपालिकामा नयाँ र पहिलो व्यवसाय भएकाले पनि यस क्षेत्रमा हुने विभिन्न कार्यक्रम, शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

तीन वर्ष अघि नगरपालिकाले बुटवलमा एक हप्ताको पुष्प व्यवसायसम्बन्धी तालिममा पठाएपछि थापाले लगत्तै खेती सुरु गर्नुभएको हो । नयाँ र पहिलो व्यवसाय भए पनि परीक्षणका क्रममै सबैको आकर्षण बढाउन थालेपछि यतिखेर यहाँको व्यवसायले चर्चा पाएको छ । फूलसँगै करिब दश रोपनी जग्गामा तरकारी व्यावसाय छ । “दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी र फूल लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु”, थापाले भन्नुभयो ।

फूल अभाव हुँदै जाँदा कृत्रिम मालामा आकर्षण बढेका बेला यहाँ युवाले थालनी गरेको पुष्प व्यवसाय नमूना बनेको सञ्चारकर्मी सीता डोटेल बताउछिन् । “पछिल्ला समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला यहाँ थालनी गरिएको सयपत्री फूलले छोटो समयमा धेरै चर्चा बटुलेको छ, लोप अवस्थामा रहेको फूललाई संरक्षण गर्दै व्यावसायिक ढङ्गबाट खेती गर्न युवालाई उप्रेरित गराउँदै सम्बन्धित स्थानीय सरकारले सहयोगका कार्यक्रम ल्याएमा निरन्तरता पाउनेछ”, उहाँले भन्नुभयो । युवा उद्यमी थापाको पुष्प व्यवसाय पाल्पाकै नमुना बनेको छ । पाल्पामै व्यावसायिकरुपमा थापाले रामपुरमा खेती सुरु गर्नुभएको छ ।

कम लगानीमा छोटो समयमा राम्रै आम्दानी गर्न सकिने हुँदा थापाले क्रमिकरुपमा क्षेत्रफल बढाउँदै जानुभएको छ । रामपुरभित्र विभिन्न सङ्घ संस्थाको आयोजनामा हुने विविध कार्यक्रममा यहाँ उत्पादन भएको फूल प्रयोगमा आउने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.