सिरियामा जातीय हिंसा चर्कियो, १२ जनाको मृत्यु

सिरियामा जातीय हिंसा चर्कियो, १२ जनाको मृत्यु

काठमाडौं, १९ चैत । सिरियामा जातीय हिंसाको लहर फेरि तीव्र बनेको छ। सोमबार तटीय र मध्य क्षेत्रमा भएका फरक–फरक घटनामा १२ जना नागरिकको ज्यान गएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा अधिकांश अलावाइट समुदायका व्यक्ति छन्।

सिरियाको सुरक्षा स्थिति अझै अस्थिर छ। करिब १४ वर्ष लामो गृहयुद्धपछि गत डिसेम्बरमा इस्लामवादी शक्तिहरूले राष्ट्रपति बशर अल–असदको शासन ढाले पनि समुदायहरूबीचको तनाव घटेको छैन। अनुगमन समूहका अनुसार टार्टस प्रान्तको तटीय क्षेत्रमा भएको एउटा हमलामा स्थानीय अधिकारीसहित ६ नागरिक मारिएका छन्। स्रोतकानुसार आक्रमणकारीहरू बानियास नजिकैको नयाँ सरकार–समर्थित सैन्य आधारबाट आएका थिए। प्रत्यक्षदर्शीका अनुसार हमलाकारीहरूले जातीय आधारमा नारा लगाउँदै गोली चलाएका थिए।

अलावाइट समुदायका धेरैजना बशर अल–असदको शासनकालको हिंसापछि प्रतिशोधको त्रासमा छन्। यो महिनाको सुरुमा पनि सिरियामा ठूलो स्तरको जातीय हिंसा भड्किएको थियो, जसमा खासगरी तटीय क्षेत्रमा धेरै नागरिकको ज्यान गएको थियो। यस्तै, होम्स शहरमा अर्को दर्दनाक घटना भएको छ। दुई सशस्त्र व्यक्तिले एउटा घरमा प्रवेश गरी त्यहाँका बासिन्दामाथि गोली चलाउँदा एक महिला र उनका तीन सन्तानको मृत्यु भएको छ। सोही घटनामा दुई सुन्नी मुस्लिम नागरिकको पनि ज्यान गएको छ।

अनुगमन समूहका अनुसार आक्रमणकारीमध्ये एकजना नयाँ सिरियाली सुरक्षाबलसँग सम्बद्ध थिए। घटनापछि सुरक्षा निकायले छानबिन थालेको छ। सिरियाली सरकारी सञ्चारमाध्यमले यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको तथ्याङ्कअनुसार मार्च ६ यता भड्किएको जातीय हिंसामा हालसम्म १,७०० भन्दा बढी नागरिकको मृत्यु भएको छ, जसमा अलावाइट समुदायको बाहुल्य छ।

सिरियाली अधिकारीहरूले यी हिंसाका लागि बशर अल–असदका समर्थक सशस्त्र समूहलाई दोष दिएका छन्। नयाँ सरकारको सुरक्षाबललाई निशाना बनाएर भएको हमलापछि सैन्य कारबाही तीव्र पारिएको छ।

 


Thali Mobile Pvt.Ltd.