भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने नागरिक वर्षात्को समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ ।

जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय दिपायल राजपुरले नदी नियन्त्रणका लागि वर्षेनी लाखौँ रकमका तारजाली लगाउने गरेको भए पनि समस्या समाधान हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका दीलबहादुर भण्डारीले बताए । उहाँले भन्नुभयो, “नदी नियन्त्रणका लागि जलउत्पन्न कार्यालयले लाखौँका तारजाली त हाल्छ, नदीको बाढीले असार–साउन महिनामै बगाउँछ, अनि जमिन फेरि कटान हुन सुरु गर्छ, हाम्रा पीडा उस्तै ।”

सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण यहाँ वर्षेनी जोखिम बढ्दै गएको छ । पानीको बहाव पनि निकै बढ्ने भएकाले कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको दिपायल सिलगढी–१ सिरखोलीसैनका स्थानीयवासी लक्ष्मण साउदले बताउनुभयो । जिल्लाको शिखर नगरपालिका–१० बनलेग र ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढीपहिराले निकै दुःख दिने गरेको स्थानीवासी बताउँछन् ।

सेतीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । शिखर नगरपालिका–२ कालागाढका रामबहादुर कर्कीले दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, घोलतडा नारिदाङलगायतका बस्तीमा जमिन नदीले कटान गर्न थालेको भए पनि सम्बन्धित निकायले रोकथामका लागि ठोस पहल नगर्दा समस्या हुन थालेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नदीले धार परिवर्तन गरेर दैनिक खेतबारी बगाउँदै आएको छ, रोकथामका लागि ठोस पहल भएको छैन ।”

यस वर्षको भारी वर्षात्कै कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न २२ ठाउँलाई प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालिम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले जानकारी दिए । जिल्लाको कति प्रतिशत भूभाग पहिराको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन ।

जिल्लामा रहेका उच्च पहाडी तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाका आधारमा जोखिमयुक्त ठाउँ पहिचान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले जानकारी दिए । जिल्लामा विसं २०७२ साउन २३ गते ठू्लो पानी पर्दा खसेको पहिराका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो । यस वर्ष बाढीपहिराका कारण साउनसम्म पाँच जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.