१९ श्रावण २०७७ बझाङ । सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले दिएको जानकारीअनुसार बझाङ जिल्ला घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (एचए) विनयबहादुर सिंहको शव आज शिखर नगरपालिका–१० बणैताप भन्ने ठाउँमा फेला परेको हो ।
आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव केआईसिंह गाउँपालिका–५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो । नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनीहरु दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा नुहाउन गएका बेला उनीहरु दुवै जना नदीमा बगेर बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी कार्य गरिरहेको थियो ।
