भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

पाँचथर । जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सक थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ । थपिएका सेवामा हाडजोर्नी तथा नशाको रोगको बहिरङ्ग ( ओपिडी ) तथा शल्यक्रिया, जनरल सर्जरी बहिरंग , जनरल सर्जरीसम्बन्धी शल्यक्रिया र एनेस्थेसिया ( शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने ) छन् ।

पचास शय्या सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भएपछि अस्पतालले आन्तरिक स्रोतबाट नयाँ चिकित्सक भर्ना गरेर सेवा विस्तार गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार आन्तरिक स्रोतबाट चिकित्सकहरू नियुक्त गरी नयाँ सेवा विस्तार गरिएको हो । अस्पतालले गत महिनाबाट विशेषज्ञ चिकित्सक जनरल सर्जरीतर्फ डा प्राञ्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोगतर्फ डा देउमान लिम्बू र एनेस्थेसियोलोजिस्ट डा गणेश वनलाई नियुक्त गरेको जिसस प्रमुखआङ्देम्बेले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले हाल आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसूति सेवा, अन्तरङ्ग सेवा, दन्त रोग सेवा, मातृ शिशु र खोप सेवा, सरुवा कीटजन्य तथा महामारी रोग सेवा, क्याबिन सेवा, आँखाको बहिरङ्ग सेवा र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यस्तै कार्यक्रम सेवाका रूपमा यस अस्पतालले निःशुल्क नवजात शिशु सेवा, निःशुल्क प्रसूति सेवा, स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा सेवा, लैङ्गिक सङ्कट व्यवस्थापन एकद्वार सेवा र निःशुल्क गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । यस्तै बाल रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिने प्रयास भइरहेको जिससप्रमुख आङ्देम्बेले बताउनुभयो ।

थप भएका सेवाबाट साना गाँठागुठी फाल्ने, बोसो जमेको फाल्ने, गहिरो चोटपटक लागेका घाउहरूको उपचार गर्ने, पोलेको घाउहरूको उपचार, हाइड्रोसिल, मलद्वारका रोगहरू, हर्निया, एपेन्डिक्सको शल्यक्रिया, आन्द्रासम्बन्धी समस्याको शल्यक्रिया र उपचार, पित्तथैलीको शल्यक्रिया, मासु पलाएको, अण्डकोषको शल्यक्रिया, छाला टाल्नेलगायत स–साना शल्यक्रियाका सेवा सञ्चालन गर्न सकिने अस्पतालका चिकित्सक डा प्राञ्जलचन्द्र पौडेलले जानकारी दिनुभयो । निकट भविष्यमा इन्डोस्कोपी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै हाडजोर्नी तथा नशा रोगको सेवातर्फ हड्डी भाँचिएको, हड्डी टुटेको फुटेको, स्टिल राख्ने, झिक्नेसहित धेरै सेवा प्रवाह गर्न सकिने हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा देउमान लिम्बूले बताउनुभयो । विशेषतः पूर्वी पहाडमा हाडजोर्नीको समस्याका धेरै बिरामी हुने भए पनि उपचारका लागि तराईका जिल्लामा पुग्नुपर्ने र ठूलो धनराशि खर्च हुने अवस्था अन्त्य गर्न रोक्ने आफूहरूको प्रयास हुने बताउनुभयो । “सकेसम्म जिल्ला अस्पतालमा देखाएर मात्रै अन्यत्र जान बिरामीलाई सुझाव दिन्छौँ”, डा लिम्बूले भन्नुभयो ।

पूर्वी पहाडका पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीले समेत सेवा लिने गरेको पाँचथर अस्पतालले १५ शय्या सञ्चालनको अनुमति पाए पनि हाल ३५ शय्यामा सेवा दिइरहेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत दुई वर्षअघि नै यस अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने घोषणा गरेको थियो भने गत वर्ष ५० शय्या सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।यद्यपि प्रदेशले गरेको घोषणा कार्यान्वयन भने हुन सकिरहेको छैन । शय्या विस्तारका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै पूरा भइनसकेको जिसस प्रमुख आङ्देम्बेको भनाइ छ । “बजेटसहित प्रदेश सरकारबाट योजना अघि बढाइएमात्रै शय्या विस्तारको काम सम्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.