भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा (भिडियो सहित)

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा (भिडियो सहित)

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सबै तयारी पुरा भइसकेको आयोगले जानकारी दिएको छ ।

निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरी सकेको आयोगका प्रवक्ता शालिग्राम शर्माले कैलाश खबरलाई बताए । निर्वाचनमा तीन सय ५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भई सकेको र ६ जना वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ ।

१० हजार सात सय ५६ मतदान स्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले निर्विरोध निर्वाचित भएका बाहेक प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्ने प्रवक्ता शर्माले बताए । निर्वाचनमा एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक मतदान केन्द्र खटाइसकेको उनको भनाइ छ ।

निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस निर्वाचनमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यसैबीच यता भक्तपुरमा पनि निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताएकी छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाइएको छ भने ३७ वटा सम्बेदनशील र ४० वटा सामान्य सम्बेदनशील मतदान केन्द्रमा पनि व्यवस्थापन भइसकेको उनले जानकारी दिइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्….

सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिई सकिएको र त्यसै बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको भन्दै मतदान केन्द्र निर्माण गरी परिचय पत्र वितरणको कार्यमा जुटेको बताइन् । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई समेत तालिमको व्यवस्था गरिसकिएको बताइन् ।

आवश्यक सबै सामाग्री तयारी अवस्थामा राख्न र तीन तहको सुरक्षा घेरा भएकाले ढुक्क भएर मतदानमा सहभागि हुन मतदातालाई मतदान गर्न अनुरोध गरिन् । हिजो रातिबाट सुरु भएको मौन अवधिको कार्य पूर्ण पालना गर्न पनि सवै राजनैतिक दललाई आग्रह गरिएको प्रजिअ शर्माले अनुरोध गरेको बताइन् ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिने पनि जानकारी दिइन् ।

मतदान अधिकृत,  सहायक मतदान अधिकृत, स्वयंसेवकलगायत मतदानको कार्यमा खटिने सम्पूर्ण जनशक्तिलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्य सम्पन्न भईसकेकाे र  मतदान स्थलमा पुगी सकेको जानकारी दिइन् ।

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले दिएको अधिकार र जिल्लामा उल्लंघनका घट्ना भए तत्काल खबर गर्न पनि टोली परिचालन गरेको उनको भनाइ छ ।

मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने भएकाले त्यस अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने जिल्लाले व्यवस्था मिलाएको जानकारी दिइन् ।

मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकोले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन भइसकेको बताइन् ।

बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएकाले यो अधिकारको प्रयोग गर्न वैशाख ३० गते कसैको डर, धाक धम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न जिल्ला प्रशासनको तर्फबाट सबै मतदातालाई अनुरोध गरेको बताइन् । २१९ वटा मतदान केन्द्र रहेकाे भक्तपुरमा दुई  लाख ८९ हजार ५ सय ८४ मतदाता रहेकाे शर्माले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.