काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज दिउसो तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।
आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो । आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ । आयोगको टोलीमा गुणस्तर तथा नापतौल विभाग, खानी तथा भू–गर्भ विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् । उनीहरूले जलहरी बनाइएको सुनको तौल, गुणस्तर लगायतका विषयमा परीक्षण गर्ने जानकारी दिएका छन् ।
जलहरीमा ११ किलो सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका छ । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नुभएको थियो । घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिने बताउनु भएको थियो । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ किलो परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
