एजेन्सी । मेक्सिकाेकाे एक बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए।
सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए। जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो संख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए। सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल पुर्याइएको छ।
त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन्। उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन। त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ। जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरूले हमला गरेका अनुमान गरिएको बताएका छन्।
उक्त जेलकाे थप सुरक्षाका लागि अहिले सो जेलमा थप सुरक्षाकर्मीहरू राखिएकाे अधिकारीहरूले बताएका छन्।
