भक्तपुर । अहिले देशको अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारीहरु दोषी रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा ख्वप ईन्जिनियरि· कलेजको सभाहलमा विस्काः जात्रा तथा नया“ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिनेक्रममा उनले यस्तो बताएका हुन ।
कर्मचारीहरु इमानदार र लगनशील भई काम नगर्नुको परिणाम अहिले देशले भोग्नु परेको जिकिर गरे । ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु आफ्नो पेशाप्रति लगनशील भई इमानदारितापूर्वक देश र जनताको सेवामा समर्पित हुनुपर्ने भन्दै अन्य नगरपालिकाहरुले यहाँको कर्मचारीबाट सिक्नु पर्ने विचार व्यक्त गरे ।
सरकारले सरकारी अस्पतालमा राम्रो बन्दोबस्त गर्न नसक्दा जनताहरुले अकालमा मृत्युवरण गर्नु परिरहेको दावा गर्दै देशको सन्तुलित विकासको निम्ति हरेक प्रदेश र जिल्ला सदरमुकामहरुमा वीर अस्पताल जस्तो सुविधा सम्पन्न अस्पतालहरुको बन्दोबस्त गर्नुपर्ने बताए । सरकारी अस्पतालले राम्रो सेवा प्रदान गरेको भए कोही पनि महंगो निजी अस्पतालमा जाने अवस्था नआउने धारणा राखे ।
प्रमुख अतिथि विजुक्छेंले जनताको चेतनास्तर वृद्धि नभएसम्म स्वास्थ्य सेवामा चुनौती रहने भन्दै स्वास्थ्यकर्मीहरुले सेवाग्राहीसँग नम्र व्यवहार गर्नुपर्ने बताए । आफ्नो क्षेत्रमा सफलता पाउन अथक प्रयास गर्नुपर्ने र विदेशी भाषाहरुको ज्ञान अभिवृद्धि गर्न सके आफ्नो पेशाका साथसाथै उच्च शिक्षा प्राप्त गर्नमा सहयोग हुने बताए । बिजुक्छेंले भने, “भौतिक परिवर्तन भन्दा सा“स्कृतिक परिवर्तन महत्वपूर्ण कुरा हो ।”
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नगरबासीहरुको लागि ख्वप अस्पतालमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा, अस्पतालमा अन्तरंग सेवा लगायत ८० रुपैंयामा विशेषज्ञ सहितको १० घण्टा ओपिडी सेवा, निःशुल्क अक्सीजन, नियमित भिडियो एक्सरे लगायत सेवा प्रदान गर्दै आएको र निकट भविष्यमा प्रसुति सेवा शुरु गर्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिए ।
ख्वप अस्पताल सञ्चालनको शुरुवात देखिनै संघ र प्रदेश सरकारलाई सिटी स्क्यान र एमआरआई मेशीन जस्ता स्वास्थ्य उपकरणहरुको माग गर्दै आए पनि हालसम्म प्राप्त नभएको बताउदै उहाँले नपा स्वयंयले आवश्यक उपकरणहरु थप गर्दै अगाडि बढ्ने जानकारी दिए । युवाहरु विदेशिने क्रम हरेक वर्ष बढ्दै जानु चिन्ताजनक रहेको बताउँँदै हरेक वर्ष शिक्षाको लागि मात्र खर्बौ रुपैंया बाहिर गइरहेको बताए ।
देशमै भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु आजको आवश्यकता हो भन्दै उनले दैनिक ७–८ सयको दरले ख्वप अस्पतालले देशभरीकै १ लाख ४२ हजारभन्दा बढी जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गरिसकेको जानकारी दिए । आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने विरामीहरुको लागि लक्षित गरी छुट्टै कोषको व्यवस्था गरिएको बताए ।
नेपाल मजदुर किसान पार्टीको घोषणापत्रलाई आत्मसात गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति जगेर्ना र सम्पदा संरक्षण लगायत सरसफाईमा गरिरहेको कार्यको भनपाका उपप्रमुख रजनी जोशीले चर्चा गरिन् ।
ख्वप अस्पतालले प्रदान गर्दै आएको सेवाबारे संक्षेपमा जानकारी दिदै ख्वप अस्पतालका निमित्त मेडिकल डाईरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालका सेवा सुविधाबारे प्रकाश पारे । कार्यक्रममा ख्वप अस्पतालका डा. अमर प्रजापति, डा. रत्नसुन्दर लासिवा, स्टाफ नर्स रविना कवांले आ आफ्नो धारणा राखेका थिए ।
