भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आन्तरिक पर्यटकको आगमन बढ्दै

आन्तरिक पर्यटकको आगमन बढ्दै

रसुवा । कोभिड–१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो । कोरोना सङ्क्रमणले देश लकडाउन भएका बेला सुनसान भएको रसुवाको पर्यटकीय क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको आगमनसँगै हिमाली प्रकृति छटा अवलोकनका लागि बढ्न सक्ने पर्यटकको चापलाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन होटल तथा लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको पर्यटन व्यवसायीले बताएका छन् ।

रसुवा जिल्लाको लाङटाङलगायत तामाङ सम्पदा मार्ग, गोसाइँकुण्ड धार्मिक एवं हेलम्बु, ठाडेपाटी क्षेत्रका पदमार्गमा अवस्थित होटल तथा लजमा समेत आवश्यक तयारी पूरा भएको होटल व्यवस्थापन समितिले जनाएको छ । गत मङ्सिरदेखिनै कोरोनाको प्रभाव शून्यमा झरेको र खोप लगाउने कार्यसमेत धमाधम अगाडि बढिरहेका कारण उच्च मनोबलका साथ भ्रमण गर्नसक्ने वातावरण सिर्जना भइसकेकाले आगन्तुक पाहुनाको स्वागत गर्न यहाँका पर्यटन व्यवसायी आतुर रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले बताउनुभयो ।

शिशिर ऋतुअन्तर्गत फागुन १५ बाट हिमाली क्षेत्रमा तातोपना बढ्दै जाने र गृष्म ऋतुको जेठ महिनाभर भ्रमणको उपयुक्त समय मानिएको छ । यात्राका क्रममा नीलाद्री पर्वतमा विराजमान रहनुभएका भगवान् शङ्कर गोसाइँबाबाको दर्शनले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गोसाइँकुण्डका यात्रुसमेत ओहोरदोहोर गर्न थालेका छन् । यस्तै मानव बस्ती नजिक लाङटाङ क्षेत्रको हिमनदी, लौरीविनायकबाट देखिने पश्चिमी नेपालका अल्का हिमाल, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रमा पर्ने पार्वतीकुण्ड, थुमनको नाकथलीलगायतका स्थानले आगन्तुक पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् ।

काठमाडौँबाट सबैभन्दा छोटो दूरीमा रहेको रसुवाको पदयात्राका क्रममा भूमिगत संरचनाको चिलिमे जलविद्युत् केन्द्र, ऐतिहासिक रसुवागढीका साथै यहाँका उकालीओराली झरना चौतारी, कुण्ड तालले समेत मनमोहक बनाउने गरेको छ । उता जैविक कृषिउपजको भोजन गराउन वृद्विममा सञ्चालित होमस्टेसमेत सुदृढीकरण कार्य सम्पन्न गरी पाहुनाको स्वागतका लागि व्यवसायी तयार रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिनुभयो ।

तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङस्थित पर्वतीकुण्ड स्नान तथा पवित्र जलले निकास लिएको स्थानमा निर्मित १०८ धारा, स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुबाट तयार गरिएका खानाको साथै परम्परागत वेषभूषा, संस्कृतिअनुसारका नाचगाननै गतलाङको प्रमुख विशेषता भएको स्थानीयवासी पेम्वा तामाङले बताउनुभयो । काठमाडौँबाट धुञ्चे बजारमा प्रवेश गर्नासाथ नजिक जसरीनै अवलोकन गर्न सकिने लाङटाङ, धुञ्चेको पूर्वतर्फ घले राजाले बासस्थान लिएको क्षेत्र, नेपालको पहिलो तामाङ धुञ्चे सङ्ग्रहालय, मिनी गोसाइँकुण्डका स्थानले यात्रालाई थप रोमाञ्चकारी बनाउने गरेको रसुवा नागरिक समाजका सचिव लामा रेञ्जन घलेले जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण विदेश भ्रमणमा जान रोकिएका अधिकांश नेपाली रसुवाको प्राकृतिक छटा अवलोकनका लागि आएको बताउँदै होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गजुरेलले विदेशीको अपेक्षा गर्नुभन्दा स्वदेशी पर्यटकलाई गुणस्तरीय सेवा दिई अन्तरिक पर्यटनलाई बढवा दिन व्यवसायीलाई सुझाव दिनुभयो । अबको यात्रा समुद्र सतहबाट दुई हजार मिटरभन्दा माथि पदमार्गका क्षेत्रमा लालीगुराँसलगायत अन्य वनस्पतिको समेत फूल फुल्ने र त्यसभन्दा माथि हिमप्रेमीले हिउँ खेल्नसमेत सहज हुने बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.