भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कलेज सञ्चालनबारे नगरभित्रका कलेजका प्राचार्यको बैठक सम्पन्न भएको छ ।
लामो समयदेखि बन्द रहेका कलेजहरु विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्ने सम्बन्धमा बसेको बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकास र उन्नतिका निम्ति विद्यालय तथा कलेजसंग महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै सामुदायिक र संस्थागत शैक्षिक संस्थाहरुबीच गुणस्तरमा समानता ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए ।
सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न पाउनुपर्ने धारणा व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका शैक्षिक क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्दैै अगाडि बढिरहेको बताए । कलेज सञ्चालन र लकडाउनको समयको शुल्क समायोजनबारे नगरवासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक—शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालासँग राय सुझाव संकलनको क्रममा रहेको बताए ।
उपप्रमुख रजनी जोशीले पुस १ गतेबाट नगरपालिकाले आवश्यक सुरक्षा सर्तकता अपनाई ८, ९ र १० को कक्षा सञ्चालन, सुरक्षित र उपलब्धीमूलक ढंगले कक्षा सञ्चालनमा जोड दिनुपर्ने बताइन् । बैठकमा नगरभित्रका क्याम्पस प्रमुखहरुले नगरपालिकाको निर्देशनअनुसार सुरक्षाको मापदण्ड पूर्ण पालना गरी कक्षा सञ्चालन गर्न प्रतिबद्ध रहेको र अनलाइन कक्षालाई पनि थप परिष्कृत गर्दै लाने विचार व्यक्त गरिन् ।
