भर्खरै : Sorry, your browser does not support inline SVG.

कोशी प्रदेशमा नयाँ सरकार बन्ने,कार्की नेतृत्वको सरकार अल्पमतमा

कोशी प्रदेशमा नयाँ सरकार बन्ने,कार्की नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं । कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि जेठ १६ गते जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ । कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

माओवादीको १३ (सभामुखसहित) र जसपाको १ सांसदले समर्थन फिर्ता लिनेबित्तिकै मुख्य मन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकार बनाउनका लागि ४७ जना सांसद चाहिन्छ । प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् ।

केन्द्रीय सरकारमा अहिले कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ । पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादीको तयारी छ ।

केन्द्रमा नेकपा एमालले देखाएको व्यवहार अनुसार आफूहरु सरकारमा बस्नु शोभनीय नहुने भएकाले पनि समर्थन फिर्ता लिएको पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यका प्रमुख स्वकीय सचिव इश्वरी आचार्यले बताउनुभयो । उहाँले केन्द्रीय गठबनधन अनुसार अब नयाँ सिराबाट कोशी प्रदेशको सरकार प्रक्रियाबाटै बन्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.